फेरि पनि सभागृहकै लागि महोत्सव

0
Shares

बाँके । नेपालगञ्ज उद्योग बाणिज्य संघले माघ ११ देखि २२ गतेसम्म नेपालगञ्जमा प्रादेशिक महोत्सव आयोजना गर्ने भएको छ ।
संघले यसपटक पनि ‘बहुउद्देश्यीय सभागृह तथा प्रदर्शनी स्थल निर्माण सहयोगार्थ’ महोत्सव आयोजना गर्न थालेको जनाएको छ । सभागृह तथा प्रदर्शनी स्थल निर्माणका लागि यसअघि कयौ पटक महोत्सव भइसकेको छ । यो सातौं संस्करण हो ।
नेपालगञ्जको कारकादोस्थित सडक डिभिजनको कार्यालय परिसरमा संघलाई उपलब्ध गराइएको दश विगाह जमिनमा सभागृह तथा प्रदर्शनी स्थल निर्माण गर्ने भन्दै संघको हरेक नेतृत्वले महोत्सव गर्दै आएका छन् ।
संघका अध्यक्ष नन्दलाल बैश्यले सभागृह तथा प्रदर्शनीस्थल निर्माण नहुँदासम्म त्यसका नाममा महोत्सव भइरहने बताउनुभयो । ‘अहिलेसम्मका महोत्सवबाट डेढ करोड रुपैया जम्मा भएको छ, यसपाली एक करोड नाफा गर्ने लक्ष्य राखेका छौ, अध्यक्ष बैश्यले भन्नुभयो, चार करोड पैसा जम्मा भएपछि हामीले काम अगाडि बढाउँछौं ।’
नेपालगञ्जमा सभागृह तथा प्रदर्शनी स्थल निर्माणका लागि एक अर्ब रुपैया लाग्ने संघले अनुमान गरेको छ । चार करोडजति संघले जम्मा गरेपछि बाँकी सरकारलाई अनुरोध गर्ने तयारी भएको छ ।
महोत्सवलाई सफल बनाउनका लागि अध्यक्ष बैश्यको संयोजकत्वमा ७ सय ५१ सदस्यीय मूलय आयोजक समिति तथा २२ वटा उपसमितिहरु गठन गरिएको छ । महोत्सवमा बाल उद्यन विशेष रहने छ । स्थानीय उत्पादनलाई बढावा दिने उद्देश्य राखिएको बताइएको महोत्सवमा नाम चलेका कलाकारहरुको पनि प्रस्तुती रहनेछ ।