हजुरआमा मृत्युदण्डबाट जोगिइन्


क्वालालम्पुर, (एजेन्सी)
लागूऔषध ओसारप्रसारको मुद्दाबाट सफाइ पाएपछि १ जना अष्ट्रेलियाली हजुरआमा मृत्युदण्डबाट बचेकी छिन्। मारिया एल्भिरा पिन्टो एक्पोस्टो नामक ती महिलालाई सन् २०१४ को डिसेम्बरमा क्वालालम्पुर विमानस्थलमा १ दशमलव १ किलोग्राम क्रिस्टल मेथाम्फेटामाइनरहित प्रहरीले पक्राउ गरेको थियो।

अदालतले उनले आफ्नो झोलामा लागूऔषध छ भन्ने थाहा नै नभएको भनी दिएको बयानलाई विश्वास गर्दै सो फैसला गरेको हो। उनका वकिलले मारिया अनलाइन रोमान्समा फसेपछि उनलाई षड्यन्त्रपूर्वक लागूऔषध बोकाइएको दाबी गरेका थिए। मलेसियाको प्रचलित कानुनमा लागूऔषध कारोबारीलाई झुण्ड्याएर मृत्युदण्ड दिइने व्यवस्था गरिएको छ।

साथमा कम्तिमा ५० ग्राम क्रिस्टल मेथ बोकने जो केहीलाई कारोबारीको दर्जा दिइने प्रावधान छ। सजायँ मुक्त हुनासाथ निकै भाविह्ल भएर ३ नातीका बज्यै मारियाले आफ्नो छोरालाई अंकमाल गरेकी थिइन्।
क्वालालम्पुर नजिकको शाह आलमस्थित अदालतबाट हिँडने क्रममा उनले छुट्न पुगेकोमा आफू निकै खुशी भएको बताएकी छिन्। चीनको संघाइबाट मेलवर्नमा आउने क्रममा ती ५४ वर्षीया मारिया पक्राउमा परेकी थिइन्।

उनका वकिलहरूले उनी अनलाइनमा भेटेका आफूलाई अमेरिकी सैनिक बताउने क्याप्टेन ड्यानियल स्मिथ नामक व्यक्तिलाई भेट्न चीन पुगेको तर उनलाई ती व्यक्तिलाई भेट्न नपाएको बर कुनै अपरिचित व्यक्तिले उनलाई मेलवर्नसम्म एउटा झोला बोकिदिन अनुरोध गरेको बताएका छन्।