राजकुमार ह्यारीद्वारा ओबामाको अन्तर्वार्ता


वासिंगटन, (एजेन्सी)
गत जनवरीमा पदबाट बाहिरिए यता दुर्लभ अन्तर्वार्ता दिन ेक्रममा अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले सामाजिक सञ्जालको गैरजिम्मेवारीपूर्ण प्रयोग विरुद्ध चेतावनी दिएका छन्। उनले यस्तो कार्यको कारण जटिल विषयहरूमा मानिसहरूको बुझाइलाई बंग्याउँदै गलत सूचना प्रसार गरिरहेको चेतावनी दिएका छन्।

बेलायतका राजकुमार ह्यारीद्वारा बीबीसी रेडियोको फोज टुडे प्रोग्राममा सोधिएको प्रश्नको जवाफमा आबामाले भनेका छन् ,‘नेतृत्वमा रहने हामी सबैले इन्टरनेटमा साझा स्थान पुनर्निर्माण गर्ने उपायहरू खोनुपर्छ।’ बेलायतको राजगद्दिको उत्तराधिकारीको बरियताको पाँचौं स्थानमा रहेका ह्यारीले उक्त प्रोग्राममा क्रिसमसको दौरान अतिथि सम्पादक बनाइएका थुपै्र महत्त्वपूर्ण व्यक्तित्वमध्ये एक रहेका थिए।
पूर्वराष्ट्रपति आबामाले भविष्यमा मानिसहरू सत्यतथ्यबाट विमुख भई आफ्नै विचार जबर्जस्ती लादिएका कुराहरू मात्र पढ्न र सुन्न पाउने भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले भनेका छन्,‘इन्टरनेटका खतराहरूमध्ये एक भनेको मानिसहरूले पूर्णतः फरक वास्तविकता पाउने हुन्। ’

ओबामापछिका राष्ट्रपति डोनाल्ड ट्रम्प निकै ट्विटर चलाउने व्यक्ति हुन्। तर ओबामाले उनको नाम तोकेका छैनन्। ट्रम्पलाई चाहिनेभन्दा बढी ट्विटर प्रयोग गर्ने गरेको र आफूले प्रत्यक्ष रूपमा अमेरिकी जनतासँग सम्पर्क राख्न सक्ने भएपनि उनले थोरै व्यक्तिलाई मात्र फलो गर्ने गरेको आरोप लगाइएको छ।
सो प्रोग्राममा ह्यारी आफैंको पनि अन्तर्वार्ता लिइएको छ। उनले भनेका छन्– ‘मैले धेरैको अन्तर्वार्ता लिएको छैन। तर रमाइलै लाग्यो। विशेष गरी राष्ट्रपति आबामाको अन्तर्वार्ता रमाइलो लाग्यो। हुन त उनले मेरो अन्तर्वार्ता लिन चाहेका थिए।’ ह्यारीको प्रोग्राम सशस्त्र फौज, मानसिक स्वास्थ, युवा अपराध र जलवायु परिवर्तनजस्ता विषमा केन्द्रित रहेको थियो।