चिनियाँ नयाँ वर्षमा ट्रम्पलाई कुकुरका रूपमा चित्रण


बेइजिङ, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनको चिरपरिचित हेयरस्टाइल , आकाशतर्फ तेस्र्याइएको चोर औलासहित विशाल कुकुरका रूपमा सन् २०१८ को चिनियाँ नववर्षमा प्रतिनिधित्व गराइने भएको छ।

२०१८ फेब्रुअरी १६बाट शुरू हुने ‘कुकुर वर्ष’ को उत्सवमा राष्ट्रपतिको कुकुर प्रतीकको प्रयोग हुनेछ। चान्द्रिक नयाँ वर्ष पनि भन्ने गरेको चिनियँँ नयाँ वर्ष चन्द्रसूर्य चिनियाँ क्यालेन्डरमा आधारित छ र १२ वर्षको चक्रमा प्रत्येक वर्षलाई रासीसँग जोडिएको जनावरले प्रतिनिधित्व गराइएको हुन्छ। सन् २०१७ को चिनियाँ वर्ष भाले वर्ष मानिन्छ रसन् २०१८ लाई कुकुर वर्षका रूपमा स्वागत गर्न चिनियाँहरू तयार रहेका छन्। जुन ट्रम्पको चिनियाँ रासी पनि हो।

ट्रम्पको चित्रण उडेको सुनौलो अँखिभौ र माथि उठेको सुनौलो कपालमा केन्द्रित छ। उक्त कुकुरको चोर औंलाले माथि देखाइरहेको छ, यो वादविवादमा राष्ट्रपतिले दिने गरेको चर्चित शेली हो। कुकुरको घाँटीमा राखिएको कलर रातो रङ ट्रम्पले प्राय प्रयोग गर्ने टाइसँग समान छ। उक्त मूर्तिलाई सेतो क्रिसमस ट्रीले घेरिएको र गुलाफी गरगहना तथा कृतिम हिँउले सिंगारिएको छ।

उत्तरी चीनको सान्सी प्रान्तको ताइयुआन सहरस्थित एउटा सपिंग मलमा प्रदर्शनमा राखिएको उक्त कुकुरको मूर्ति चाइना प्लस न्युजले ट्विटरमा प्रकासित गरेको हो।

सन् २०१६ को चिनियाँ नयाँ वर्षमा ट्रम्पलाई ३२ फिट अग्लो भालेका रूपमा चित्रण गरिएको थियो। त्यसमा पनि कुकुरको जस्तै सुनौलो कपाल र चोर औंला ठड्याएको देखाइएको थियो। सन् २०१६ मा ट्रम्पको सपथग्रहणअगाडि उक्त भालेको सानो प्रतिकृति चीनमा उपहारका रूपमा लोकप्रिय बनेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

अमेरिकी कमान्डर इन चिफका लागि चिनियँँ नयाँ वर्षले त्यति महत्त्व नराख्ला तर उनी चिनियाँ कुकुर वर्षमा जन्मेका हुन्। ट्रम्प सन् १९४६ मा जन्मेका थिए। कुकुर वर्षमा जन्मेकाहरू चिनियाँ खगोलशास्त्रअनुसार तीक्ष्ण वुद्धि, कडाश्रम गर्ने र इमानदार हुन्छन्। आफू जन्मेको प्रतीक वर्षलाई चिनियाँहरू विशेष गरी राम्रो भाग्यको वर्षका रूपमा मनाउने गर्छन्।

ट्रम्प जन्मेको वर्ष र चिनियाँ रासी चिह्न पूर्वराष्ट्रपति जर्ज डब्ल्यु बुस र बिल क्लिन्टनको पनि हो। ट्रम्पकी नातिनी अराबेला कुस्नरले सन् २०१६ को चान्द्रिक नयाँ वर्षमा चिनियाँ भाषामा ‘ह्याप्पी न्यु इयर’ गाएको भिडियो भाइरल भएको थियो।