पूर्वराजा नेपालगन्जमा

0
Shares

कुमार श्रेष्ठ, बाँके
पूर्व राजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमा निस्किनु भएको छ। अपरान्ह पाँच बजे पूर्व राजेन्द्र सपरिवार नेपालगञ्ज विमानस्थलमा उत्रिदा ठूलो संख्यामा पूर्वराजाका समर्थकहरूले बाजागाजा र नाराबाजी गरेका थिए।

नेपालगञ्ज विमानस्थलको प्रवेशद्वारदेखि राँझाचोकसम्म पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न मानिसहरू लाइन बसेका थिए। ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, राजा आउ देश बचाऊ’ लगायतका नाराले विमानस्थल घन्किएको थियो।

स्थानीय सोल्टी होटलको उद्घाटन गर्न पूर्व राजा ज्ञानेन्द्र, पूर्वबडामहारानी कोमल, पूर्व युवराज्ञी हिमानीलगायतको टोली नेपालगञ्ज आइपुगेको हो। नेपालगञ्ज विमानस्थलबाट पूर्व राजपरिवार सिधैं सोल्टी होटल पुगेको थियो।

समर्थकलाई व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे भइरहेका बेलामा विमानस्थलमा पुगेका पत्रकारसँग पूर्वराजा शाहले नेपालगञ्ज आउदा धेरै खुशी लागेको प्रतिक्रिया दिनुभयो। पूर्व राजपरिवारको स्वागतका लागि नेपालगञ्जमा नेपाल विद्यत परिषद्का केन्द्रीय उपाध्यक्ष अधिवक्ता दिपकबहादुर सिंहको संयोजकत्वमा २ सय १ सदस्यीय स्वागत मूल समारोह समिति गठन गरिएको छ। विद्यत परिषद्का उपाध्यक्ष सिंहका अनुसार, पूर्वराज परिवार दुई सातासम्म मध्य र सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमण गर्नुहुनेछ। नेपालगञ्जको बागेश्वरी मन्दिर, नेपाल भारत सीमा जमुनाहामा रहेको हनुमान मन्दिरमा पूजा गर्ने कार्यक्रम रहेको छ। त्यस्तै, बर्दियाको गुलरिया, दाङ, सुर्खेत र धनगढी जाने कार्यक्रम रहेको छ।

पश्चिम नेपालको बसाईमा पूर्वराजा शाहले विभिन्न व्यक्तित्वहरूलाई भेटघाट गर्ने सिंहले जानकारी दिनुभयो।