कारागारमा झडप हुँदा ६ जना घाइते

0
Shares

हेटौंडा, (नेस) । मकवानपुरको भीमफेदी क्षेत्रीय कारागारमा कैदी/बन्दीबीच झडप हुँदा ६ जना घाइते भएका छन् । जेलमा नाइकेविरुद्ध आवाज उठाउँदा दुई पक्षबीच झडप भएको हो ।
जेलका नाइके रमेश लामाविरुद्ध आवाज उठाउँदा झडप भएको थियो । लामाविरुद्ध आवाज उठाएको भन्दै केही कैदी/बन्दीमाथि कुटपिट भएको र ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो ।
झडपका क्रममा नाइके लामाका पक्षबाट कुटपिट हुँदा बन्दी दिव्य श्रेष्ठ, सुरेश थिङ, सुवास प्रधान, बाबु रेग्मी, मधु गिरी र आशीष राई घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक दिलीपराज झाले बताउनुभयो । घाइतेमध्ये चार जनाको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ भने दुई जनालाई उपचारपछि जेल लगिएको छ ।
बिहीबार दिउँसो करिब १२ बजे झडप भएको थियो । केही समय अघिदेखि जेलका नाइके परिवर्तन गर्नुपर्ने, नाइकेलाई सार्नुपर्ने लगायत माग राख्दै कैदी/बन्दीहरुले आवाज उठाउँदै आएका थिए । यही विषयलाई लिएर कुटपिट भएको एसपी खनालले बताउनुभयो । यस विषयमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
बन्दीले जेलभित्र क्यान्टिनमा खानेकुरा महंगो भएकोलगायत गुनासो गर्दै आएका छन् । जेलमा बिहीबारसम्म ८ सय ४५ पुरुष कैदी÷बन्दी छन् । सुरक्षाका लागि सशस्त्र प्रहरी बलका ६६ जना र जनपद प्रहरी छन् । जेलमा सुरक्षाका लागि सशस्त्र प्रहरी र कैदी÷बन्दी ओसार्ने काममा जनपद प्रहरीले सहयोग गर्दै आएका छन् ।