शिलान्यास भएको दुइ वर्ष वितिसकेपनि झोलुङ्गे पुल निर्माण अधुरै

0
Shares

उत्तम नेपाल, भद्रपुर । शिलान्यास भएको दुइ वर्ष वितिसकेपनि झोलुङ्गे पुल निर्माण सम्पन्न हुनसकेको छैन । झापाको भद्रपुर नगरपालिका ३ स्थित मेचीपारीबासीका स्थानीयलाई मध्यनजर गर्दै निर्माण सुरु गरिएको पुल समयमा नबनेका कारण गाउलाइ समस्या भएको हो । गाँउमा बिजुली आएपनि पुल नबन्दा उनीहरुको पीडा जस्ताको त्यस्तै छ ।
निर्माण कम्पनीले १८ महिनामा सक्नुपर्ने झोलुङ्गे पुलको काममा २८ महिनामा पनि सकेको छैन । ठेकेदारले निर्माण कार्य अलपत्रमा छाडेर बेपत्ता बनेपछि अहिले स्थानीय नदी तर्न बाध्य छन् । हिउँदमा त नदी तर्दा समस्या छैन, तर बर्खाको तीन महिना स्थानीयको आवतजावत नै ठप्प हुन्छ । उनीहरु नेपाली नागरिक भएपनि भारतमा निर्भर हुन बाध्य परेका छन् ।
भारतीय भूमिसंग जोडिएको मेची नदी पारी टाँपू आकारमा रहेको सानो गाउँलाई भद्रपुरसंग जोड्ने उदेश्यले नेपाल सरकारले आर्थिक बर्ष २०७२÷७३ मा एउटा योजना अघि सारेको थियो । तत्कालिन प्रधानमन्त्री शुसिल कोइरालाले सत्ता सम्हालेको सरकारले मेचीपारीबासीको सेवासुविधालाई मध्यनजर गर्दै मेची नदीमा झोलुङ्गे पुल निर्माणका लागि बजेट निकासा गरेको थियो । नदीमा झोलुङ्गे पुल बन्ने दशकौदेखि सपना पूरा हुन लागेपछि मेचीपारीका १ सय ४० घरपरिवारमा खुशीयाली छायो । तर, मेचीपारीबासीको खुशीयालीलाई निर्माण कम्पनीले ग्रहण लगाई दिएका छन् ।
नेपाली काग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाले २०७२ असोज ११ गत एक भव्य समारोहका बिच पुलको शिलान्यास गर्दै समयमा काम सम्पन्न गराउन सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई जानकारी गराएपनि त्यसले निरन्तरता पाउन नसक्दा स्थानीयमा फेरी निराश छाएको छ ।
संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयको बजेटबाट यो पुल बन्न लागेको हो । भ्याट सहित २ करोड ८५ लाख ९८ हजार २ सय ५९ रुपैयामा निल गिरी सेवा प्रा.(लि) बानेश्वर काठमाडौले २०७२ भदौ ७ गते ठेक्का सम्र्झौता गरेको थियो । २ सय ८० मिटर लामो र १३ मिटर चौढाई सहितको पुलको निर्माण कार्य १८ महिना अर्थात २०७३ फागुन ६ गते सम्पन्न हुने गरी निर्माण व्यवसायी युवराज डाँगीले ठेक्का लिएको हो । तोकिएको समय अवधि सकिएर १० महिना बढी भइसकेको छ । अहिले निर्माणस्थलमा एउटा टहरामा दुई÷चार जना कामदार बस्दै आएका छन् । दुई वटा पिलरको काम अधुरो बनाएर छाडिदिएका छन् । पुलको लागि ल्याएको सामग्री खिया लाग्न र सिमेन्ट डल्लो पर्ने थालिसकेको छ । तर, ठेकेदारको अत्तोपत्तो छैन ।
यसतर्फ झापाका सम्बन्धित निकायले समेत वेवस्ता गरेको प्रति स्थानीयले गुनासो पोख्न थालेका छन् । दशैंअघि दुईवटा पिलरको अधुरो काम सकेर वेपत्ता भएको ठेकेदार अहिले सम्म देखा नपरेको स्थानीय हावालाल सिंह राजवंशीले गुनासो पोख । ‘तीन बर्षदेखि पिलर उठाउने काम मात्र भइरहेको छ, उनले भने, ‘कसको कमजोरी हो बुझनै सकेका छैनौ । फेरी बर्खा आउन केही महिना मात्र बाँकी छ, हाम्रो पीडाको सुनवाइ भएन उनले थपे ।
‘दुई महिना काम हुन्छ भने चार महिना बन्द हुन्छ, स्थानीय मिस्त्री राजवंशीले बताए । ‘एक बर्ष आफ्ैले पुलको रेखदेखको जिम्मा लिएर हेर्दे आएका थियौ, उनले भने, ‘तर’ कामले निरन्तरता नपाएपछि हेर्ने जिम्मेवारी छाडिदिए । ठेकेदारले सामान ल्याउने र लैजाने काम मात्र गर्दै आएको छ । ‘कहिले ठेकेदारको मान्छे आउँछ कहिले जान्छ गाउँबासीलाई केही थाहा हुदैन, उनले भने ।