‘सर्वोच्चले न्याय नदिए अन्तर्राष्ट्रिय अदालत जान्छु

0
Shares

प्रशान्त वली, काठमाडौं
सुनसरी–३ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजय बेहोरेकी भगवती चौधरीले सर्वोच्च अदालतले न्याय नगरे आफू अन्तर्राष्ट्रिय अदालत धाउने बताउनुभएको छ। प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनबाट उम्मेदवार भएकी चौधरीले मत परिणाम बदर गरी पुनः मतगणनाको मागसहित सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दा दर्ता गराउनुभएको छ।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘विजयकुमार गच्छदारले सत्ता र शक्तिको आडमा प्रशासनलाई आफ्नो हातमा लिएर धाँधली गर्दै निर्वाचन जित्नुभयो। मलाई सर्वोच्चले न्याय गरेन भने म अन्तर्राष्ट्रिय अदालत जान्छु। त्यसका लागि साथीहरूसँग सल्लाह भइरहेको छ।’

सुनसरी–३ बाट विजयी नेपाली कांग्रेसका विजयकुमार गच्छदार, निर्वाचन आयोग केन्द्रीय कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरी, सुनसरी–३ का निर्वाचन अधिकृतलाई विपक्षी बनाई चौधरीले मुद्दा दर्ता गराएको सर्वोच्चका प्रवक्ता नारायण पन्थीले जानकारी दिनुभयो। शुक्रबार दायर रिटको सुनुवाइ मिति तोकिने आफूलाई अदालतले बताएको चौधरीले जानकारी दिनुभयो।

चौधरीले विपक्षी गच्छदारलाई प्रतिनिधिसभा सदस्यको शपथ नगराउनु, संघीय संसद्को पदधारण गरी कामकाज गर्न नदिनु, निर्वाचनसँग सम्बन्धित मतपत्रलगायतका सम्पूर्ण कागजात सुरक्षित राख्नु भन्दै सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली २०७२ को नियम १९ को उपनियम ४ बमोजिम आदेश जारी गर्न माग गर्नुभएको छ।

गत मंसिर २१ गते भएको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार उपप्रधानमन्त्री विजयकुमार गच्छदार ३ सय २१ मतले विजयी हुनुभएको थियो।