खोटाङमा जथाभाबी पार्किङ गरे ५ हजार जरिवाना

0
Shares

रामधन राई, खोटाङ । खोटाङ सदरमुकाम दिक्तेलबजार समेत रहेको रुपाकोट मझुवागढी नगरपालिकाले जथाभाबी सवारी पार्किङ गरे ५ हजार जरिवाना लिने निर्णय गरिएको छ । नगरपालिकाले सञ्चालन गरेको सरसफाई तथा नगर ब्यवस्थापन कार्यक्रमको समीक्षा गर्दै बुधबारदेखि बस तथा जिपलाई ब्यवसायीले आ–आफ्नो स्थान अर्थात बस पार्कमा पार्किङ नगरी जथाभाबी पार्किङ गरेमा जरिवाना लिने निर्णय गरिएको हो ।
जिल्लामा सञ्चालित सवारीसाधनलाई पटक–पटक बसपार्क र जिपपार्कमा पार्किङ गर्न अनुरोध गरिए पनि यातायात व्यवसायीले बेवास्ता गरेकाले यातायात ब्यवसायी सहितको सर्बपक्षीय उपस्थितीमा यस्तो निर्णय गरिएको जनाईएको छ ।
जिपलाई हाँटडाडामा रहेको जिपपार्क र बस तथा ट्रकलाई आचार्यटोल र सोल्मा डाडाँगाउँमा रहेको बसपार्कमा नै पार्किङ गर्न अनुरोध गरिएको मेयर दिपनारायण रिजालले बताउनुभयो ।
दुई वटै बसपार्क तथा जिपपार्कमा भौतिक पूर्वाधार तयार भईसके पनि ब्यवसायीले पार्किङका लागि नलगी बजारमै पार्क गर्दै आएका थिए ।
यस्तै, दिक्तेलबजारमा सडक साँघुरो भएकाले गर्दा बिद्यार्थीको चहलपहल बढी हुने बिहान ९ बजेदेखि साँढे दश बजे र साँझ ३ बजेदेखि साँढे चार बजेसम्म मोटरबाईक बाहेक कुनै पनि सवारी साधन गुडाउन निषेध गरिएको नगरपालिकाले जनाएको छ ।