बाल पुस्तकबाट सुकीको कथा हटाउन माग

0
Shares

लन्डन, (एजेन्सी)
बेलायतमा सन् २०१७ को सबैभन्दा प्रतिष्ठित बाल पुस्तक ‘गुड नाइट स्टोरिज फर रेबल गल्र्स’बाट म्यान्मारकी नेता आङ सान सुकीको नाम हटाउन उनका आलोचकहरूले माग गरेका छन्।

म्यान्मारमा रोहिंग्या मुसलमानमाथि भएको हिंसात्मक दमनमा सुकीको भूमिकालाई लिएर उनको आलोचना भइरहेको छ। उक्त पुस्तकमा आफ्नो प्रतिभा तथा कामले युवतीहरूलाई प्रेरित गर्ने र यथास्थितिलाई चुनौती दिने महिलाहरूको जीवनी राखिएका छन्।

जुन बेला उक्त किताब लेखिएको थियो त्यतिबेला नोबेल पुरस्कार विजेता तथा उत्पीडनका बेला पनि साहसका प्रतीक बनेकी सुकीलाई त्यसमा समावेश गर्न योग्य ठानिएको द गार्जियनले जनाएको छ। तर रोहिंग्या मुसलमानमाथि भएको अत्याचारमा उनको प्रतिक्रियालाई लिएर अत्यन्त आलोचना भएको छ र उनलाई भविष्यमा किताबको सबै संस्करणबाट निकाल्न माग गरिएको छ।

यसको जवाफमा लेखक एलेना फाविली र फ्रान्सेस्का केवालोले भने– ‘हामी स्थितिलाई नजिकबाट निगरानी गरिरहेका छौं र हामी भविष्यको संस्करणबाट उनको नाम हटाउने विचारलाई पूर्णरूपमा अस्वीकार गर्दैनौं।’ किताबमा सुकीलाई उद्धृत गर्दै भनिएको छ– ‘हामी यही धर्तीमा बस्छौं, त्यसले हामीले यो विश्वका लागि आफ्नो सर्वश्रेष्ठ दिने पूर्ण प्रयास गर्नुपर्छ।’

किताबमा सैन्य शासनविरुद्ध सुकीको २१ वर्ष लामो विद्रोहको कहानीलाई समेटिएको छ। उक्त पुस्तकलाई लिएर फेसबुक पेजमा एक आलोचकले आफ्नो पोस्टमा लेखेकी छिन्– ‘यो किताबको ९९ प्रतिशत हिस्सा प्रेरणादायक छ। तपाईंले पुस्तकमा त्यस्तो व्यक्तिलाई समावेश गर्नुभयो जसमाथि नरसंहार गराएको आशंका छ, मलाई त्यसमा घृणा लागेको छ। ती महिलाका बीचमा सुकीको कुनै स्थान छैन। उनी त्यो व्यक्ति हुन् जसले केही गरेको छैन र सम्भवतः नरसंहार, बलात्कार र बालबालिकालाई जीवितै जलाएको घटनामा सीधै संलग्न रहेको हुनसक्छ। मलाई अचम्म लाग्छ, उनी पनि यस किताबमा छन्।’

एक अर्को अभिभावकले पुस्तकमा सुकीलाई सन्त
बताइएकामा आफू निरास भएको बताएका छन्।
बेलायतको लेबर पार्टीका सांसद यास्मिन कुरैसीले रोहिंग्या संकटका बारेमा संसद्मा चिन्ता व्यक्त गरेकी थिइन्। उनले भनिन्– ‘मलाई आश्चर्य लाग्छ, नागरिक अधिकारका लागि लड्ने सबैभन्दा प्रशंसित एवम् सम्मानित व्यक्ति परिवर्तन हुन्छ र ऊसँग करुणा पनि हुँदैन, यस्तो कसरी हुनसक्छ।’

म्यान्मारमा लोकतन्त्र बहालीका लागि लामो संघर्ष गरेकी सुकीले नोबेल शान्ति पुरस्कारसहित १ सय २० अन्तर्राष्ट्रिय सम्मान आफ्नो नाममा पारिसकेकी छिन्।