राउल क्यास्त्रोले अप्रिलमा सत्ता छोड्ने

0
Shares

हवाना, (एजेन्सी)
क्युबाका राष्ट्रपति राउल क्यास्त्रोले अर्को वर्ष अप्रिल १९ मा पद त्याग गर्ने घोषणा गरेका छन्। ८६ वर्षीय क्यास्त्रोले आफ्ना दाजु फिडेल क्यास्त्रोले पद छोडेपछि सन् २००६ मा देशको सत्ता सम्हालेका थिए।

यद्यपि आधिकारिक रूपमा राउल क्यास्त्रो २००८ मा देशका राष्ट्रपति बनेका थिए। फिडेल क्यास्त्रोले खराब स्वास्थ्य स्थितिका कारण पद त्याग गरेका थिए। सन् २०१६ नोभेम्बर २५ मा ९० वर्षको उमेरमा फिडेल क्यास्त्रोको निधन भएको थियो।

बिहीबार क्युबाको संसद्ले इरमा सामुद्रिक आँधीले देशमा पुर्याएको क्षति व्यवस्थापनका लागि राउल क्यास्त्रोको कार्यकाल दुई महिना बढाएर सन् २०१८ अप्रिलसम्म बढाएको थियो। क्यास्त्रोले भने– ‘अप्रिलमा म देश र सरकार प्रमुखका रूपमा आफ्नो कार्यकाल टुंग्याउनेछु र देशले नयाँ राष्ट्रपति पाउनेछ।’

राउल क्यास्त्रो सन् २०१३ मा दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका थिए। त्यतिबेला उनले राष्ट्रपतिका रूपमा यो उनको अन्तिम पाँच वर्षको कार्यकाल हुने घोषणा गरेका थिए। उनको बहिगर्मनसँगै क्युबामा ६० वर्ष लामो ‘क्यास्त्रो ब्रदर्स’को सत्ता पनि अन्त्य हुनेछ।