पुटिनका प्रतिद्वन्द्वी नाभाल्नीले चुनाव लड्न नपाउने


मस्को, (एजेन्सी)
रुसी चुनाव अधिकारीहरूले सोमबार रुसी विपक्षी नेता एलेक्सेइ नाभाल्नीलाई औपचारिक रूपमा नै राष्ट्रपतिका लागि उम्मेदवार दिन वञ्चित गरेका छन्। जसले गर्दा नाभाल्नीले आगामी वर्ष हुने उक्त चुनाव बहिष्कार गर्न जनतालाई आह्वान गरेका छन्।

रुसको केन्द्रीय निर्वाचन आयोगले भ्रष्टाचारविरुद्धको योद्धा नाभाल्नी चुनाव लड्न अयोग्य रहेको निर्णय गरेको छ। उनीविरुद्ध लगाइएको एउटा जालसाजी मुद्दाको कारण उनलाई चुनाव लड्न अयोग्य घोषित गरिएको हो। उनीमाथि राजनीतिक पूर्वाग्रह राखेर मुद्दा दायर गरिएको अनुमान गरिएको छ। यदि उनलाई विशेष छुट दिइएको खण्डमा वा उनीमाथिको मुद्दा रद्द गरिएको खण्डमा मात्र उनले चुनाव लड्न पाउने भएका छन्।
आगामी वर्षको १८ मार्चमा हुने राष्ट्रपतीय चुनावमा वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनले सजिलैसँग जित्ने अनुमान गरिएको छ। पछिल्लो मत सर्भेक्षणअनुसार उनीप्रतिको सर्भेक्षण ८० प्रतिशत नाघेको छ। एक वर्षभित्रमा नाभाल्नीको चुनावी प्रचार र पकड पुटिनको क्षेत्रभन्दा विकट स्थानहरूसम्म फैलिन पुगेको थियो।

पुटिनको राजनीतिक जीवनमै पहिलोपटक ४१ वर्षीय नाभाल्नी सबैभन्दा सशक्त प्रतिद्वन्द्वीको रूपमा खडा हुन पुगेका हुन्। त्यसैले पनि उनलाई चुनावबाट टाढा राख्ने नियतले नै मुद्दामा फसाइएको अनुमान गरिएको छ। यस सम्बन्धमा निर्णय दिन चुनाव आयोगले पहिल्यै रिकर्ड गरिएको भिडियो सन्देश सार्वजनिक गर्नु पहिले नै नाभाल्नीले आफ्ना समर्थकहरूलाई उक्त चुनाव बहिष्कार गर्न आह्वान गरेका थिए।
उनले भनेका छन्– ‘हामीलाई चुनावमा भाग लिन बोलाइएको प्रक्रिया चुनाव नै होइन। केबल पुटिन र उनका आसेपासेहरूले मात्र यसमा भाग लिनेछन्। अहिले चुनावमा जानु भनेकै असत्य र भ्रष्टाचारीहरूलाई भोट दिनु हो।’ केन्द्रीय चुनाव आयोगका प्रमुख एल्ला पाम्फिलोभाले उक्त निर्णय सुनाउनुअघि नै नाभाल्नीलाई आफूहरूले पनि उनले चुनाव लडून् भन्ने चाहेको तर अभियोगका कारण उनी चुनाव लड्न अयोग्य ठहरिएको जानकारी दिएकी थिइन्।

तर नाभाल्नीले भनेका छन्– ‘चुनाव आयोगले मलाई रोकेको नभई मलाई मनोनयन गर्ने १६ हजार मानिस र मेरो चुनाव प्रचार प्रसारका २ लाख स्वयंसेवकलाई रोकेको मान्नुपर्छ।