वर्षाैंपछि मोसुलमा क्रिसमस मनाए


मोसुल (एजेन्सी)
इराकको मोसुलमा वर्षौंपछि पहिलो पटक क्रिसमस पर्व मनाइएको छ। मोसुल विगत केही वर्षदेखि इस्लामिक कट्टरपन्थी समूह इस्लामिक स्टेट (आईएस)को कब्जामा रहेको थियो। केही महिनाअगाडि मात्रै इराकी सरकारी फौजले उक्त शहरमाथि पूर्ण कब्जा गर्न सफलता हासिल गरेको हो।

आईएसको नियन्त्रणमा छँदा इसाईहरूमाथि धार्मिक क्रियाकलापमा प्रतिबन्द थियो र धेरैजसो इसाई उत्पीडनका डरले शहर छाडेर पलायन भएका थिए।

मोसुलमा जिहादीको शासनका क्रममा सेन्ट पल चर्च नराम्रोसँग क्षतिग्रस्त भएको थियो। सहरमा कतिपय इसाई नागरिकको घरहरू इस्लामिक स्टेटका लडाकूहरूले नष्ट गरेका थिए।

क्रिसमसका अवसरमा इराकका काल्डियन क्याथोलिक चर्चका बयोवृद्ध धर्मगुरु लुइस रफाएल साकोले ती इसाई पुनः आफ्नो घर फर्कने अपेक्षा गरेका छन्। मोसुलको पश्चिममा अल मुहान्दसिन जिल्लास्थित उक्त चर्चलाई पुनःनिर्माण गरिएको हो। धर्मगुरुले यसलाई एक चमत्कारभन्दा कम नभएको ठान्छन्।

धर्मगुरु साकोले भने– ‘यो चमत्कारजस्तै हो। जसले चर्च बनाए, उनीहरू मुसलमान थिए, यसै शहरका युवा मुसलमान। तर यो अवसरमा चर्च मुसलमान र इसाई दुवैले भरिएकाछन्। उनीहरू सँगसँगै शान्तिका लागि प्रार्थना गरिरहेका छन्। यहाँ मुस्लिम धर्मगुरू पनि उपस्थित छन्।’
प्रार्थनापछि धर्मगुरु साकोले उपस्थित सभालाई मोसुल र विश्वमा शान्तिका लागि प्रार्थना गर्नका लागि आग्रह गरेका थिए।

प्रार्थनामा सहभागी एक नागरिकले ईसा मसीहको जन्मदिन मनाउन आफूहरू एकसाथ भेला भएर इस्लामिक स्टेट समूहलाई जवाफ दिएको बताए।