चिसो मौसममा तातो फेसन शो

0
Shares

फेसन शोले तात्ने राजधानी केही समययता सेलाउन थालेको छ। फेसन शोको क्षेत्रमा आएको यो मन्दीलाई चिर्दै राजधानीको बौद्धस्थित हायत रिजेन्सी होटलको हालैको रात भने फेसन शोले फेरि तात्न पुग्यो।


एकपछि अर्काे सिक्वेन्समा मोडलहरूले हायतमा सजिसजाउ र्याम्प नाप्दा दर्शक तातेनन् मात्र, रोमाञ्चित पनि हुन पुगे। राजधानीका उत्कृष्ट र व्यवसायी ६ दर्जन मोडलले बिरालोको चाल मार्दै र्याम्प नापेको फेसन शोमा १३ विभिन्न सिक्वेन्समा तयार पारिएका फेसन प्रदर्शन गरिएको थियो। लेहेंगा, साडी, जिन्स आइटम, वान पिस र गाउनका नौला तथा सुन्दर डिजाइनमा मोडलहरूले आकर्षक ढंगले र्याम्पको फन्को मारे।

आईईसी कलेज अफ फेसन एन्ड आर्टद्वारा आयोजित आईईसी डिजाइन्स् रनवे सेसन ७ नाम दिइएको फेसन शो नेक्स्ट मोडल्स् नेपालको इभेन्ट मेनेजमेन्टमा भएको थियो। चिसो रातलाई तताउँदै करिब ३ घण्टा चलेको फेसन शोमा आईईसी कलेज अफ फेसन एन्ड आर्टमा अध्ययनरत २०१७ मा पास आउट ५१ विद्यार्थीले तयार पारेका विभिन्न १३ थिमका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डिजाइन प्रदर्शन गरिएको थियो।

पूर्वमिस नेपाल मोडल माल्भिका सुब्बाले सञ्चालन गरेको फेसन शोमा नायिकाहरू स्वतिमा खड्का, अशिस्मा नकर्मी, मलिना जोशीलगायत सो टपरको रूपमा रहेका थिए भने विशेष प्रस्तुतिमा विद्यार्थीले अध्ययनको क्रममा तयार पारेका आकर्षक पहिरन प्रदर्शन र प्रबद्र्धनको उद्देश्यले फेसन शो आयोजना गरिएको कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी गराइन्।

फेसन शोका लागि राजधानीमा अडिसन गरेर मोडलहरू चयन गरिएको थियो। अडिसनमा १ सय ५० नयाँ तथा पुराना मोडल सहभागी थिए।


मोडलहरूलाई कोरियोग्राफर तथा अभिनेता प्रशान्त ताम्राकारले प्रशिक्षण दिई र्याम्पमा उतारेका थिए।