रोल्पा र सल्यानको सिमाना छुटइउँदा स्थानीय खुसी

0
Shares

सरिता चलाउने, सल्यान
सल्यान छत्रेश्वरी गाउँपालिकाले धेरै लामो विवादमा मुछिएको आफ्नो सिमाना छुटइइएको छ। सिमानाको विषयले विवादमा मुछिएको सल्यानको छत्रेश्वरी गाउँपालिका १ र रोल्पाको सुकिदह गाउँपालिका ३ को बीचमा पर्ने चामीगाउँमा सल्यानले बोर्ड टाँसेर सिमाना छुटइएको हो। जनताको मागअनुसार आफूसहितको टोली गएर बोर्ड टाँगेर सिमाना छुटइएको छत्रेश्वरी गाउँपालिका–१ का वडा सदस्य प्रकाश हमालले बताउनुभएको छ। स्थानीयहरूले आफू सल्यानी नै भएको तर रोल्पाले दबाएर राखेको भन्ने गुनासो गरेपछि उनीहरूकै आग्रहमा सिमाना छुटइउन आफूले वडा सदस्यसहितको टोली त्यहाँ पठाएको छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताउनुभयो।

२०३५ सालअघिको राजपत्रमा मनिमारेको ढिकदेखि चामीको खोला हुँदै कुवापानीसम्मको पश्चिम भागमा पर्ने चामीगाउँ सल्यान भएको त्यहाँका स्थानीयहरूले बताएका छन्। २०३५ सालपछि चामीको खोलापारी रोल्पाका केही राजनीतिक दलहरूले आफूले राजनीति गर्न सजिलो हुन्छ भनेर आफ्नो भूभाग रोल्पातिर लगेको स्थानीयहरूले गाउँका ठूलाबडा नेताहरूलाई आरोप लगाएका छन्।

अहिलेसम्म रोल्पाबाट कुनै सेवा सुविधा नपाएको र विकास निर्माणका कामहरूमा पनि सधैं ठगिएको स्थानीय पूर्णबहादुर वलीले दुखेसो गरेका छन्। जहिले पनि रोल्पा जिल्लाबाट आएको जुनसुकै बजेटमा ठूलाबडाले गोजी भरेर शहरतिर ठूलाठूला महल बनाउने तर आफूहरू सधैं दबिएर बसेको अर्का स्थानीय लोकबहादुर डाँगीले दुःख व्यक्त गरे। अहिलेसम्म आफ्नो गाउँमा सबै सल्यानले विकास गरेको र आफू सल्यानी भएको स्थानीय पञ्चाराम डाँगीले बताउनुभयो।

आफूहरूले नै गाउँपालिकाबाट जनप्रतिनिधि बोलाएर सिमानामा बोर्ड टाँस्न लगाएको अर्का स्थानीय बुद्धिजीवी तथा शिक्षक टोपबहादुर केसीले बताएउनुभयो। सल्यानले सिमाना छुटइई बोर्ड टाँगेपछि आफूहरू खुसी भएको उनीहरूको भनाइ छ।