विजयी उम्मेदवारलाई पितृशोक

0
Shares

हेटौंडा,(नेस) । पूर्व गृहराज्यमन्त्री एवम् प्रदेशसभामा निर्वाचित सदस्य इन्द्रबहादुर बानियाँलाई पितृशोक परेको छ । नेपाली कांग्रेस मकवानपुर सभापतिसमेत रहनुभएका बानियाँका ८१ वर्षीय बुबा छेमबहादुर बानियाँको सोमबार निधन भएको हो ।
प्रोष्टेड ग्ल्याण्डसम्बन्धि उपचारका लागि एक साताअघि काठमाडौंको बयोधा हस्पिटलमा भर्ना हुनुभएका उहाँलाई अचानक हृदयघात भएको थियो । चिकित्सकले सोमबार विहान ४ बजे मृत घोषित गरेका छन् । उहाँको पशुपति आर्यघाटमा दाहसँस्कार गरिएको छ ।
श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरु गोपालमान श्रेष्ठ, राजन केसी, ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, बालकृष्ण खाँड, शंकर भण्डारी, रामहरी खतिवडा, पूर्वसभासद् रामनारायण बिडारी, उद्योगी अजेयराज सुमार्गीसहित विभिन्न दलका नेता÷कार्यकर्ता पशुपति पुग्नुभएको थियो । बानियाँका पत्नी, २ छोरा र ६ छोरी हुनुहुन्छ ।