सशस्त्रका गोताखोरहरुलाई निःशुल्क दुर्घटना बीमा

0
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुको निःशुल्क रुपमा व्यक्तिगत दुर्घटना बीमा गरिएको छ ।
विपद व्यवस्थापनको कार्यमा सशस्त्र प्रहरी कर्मचारीहरुले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ४४ औं स्थापना दिवसको अवसर पारेर एपीएफका गोताखोरहरुको निःशुल्क विमा गरेको हो ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.को प्रमुख आतिथ्यमा पौष ९ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुलाई निःशुल्क बीमा पोलिसी हस्तान्तरण कार्यक्रममा उक्त इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. प्रणव सेनले गोताखोरहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.ले देश र जनताको सेवालाई मूलमन्त्र सम्झिएर संगठन विपद व्यवस्थापन लगायत प्राप्त जिम्मेवारीहरु उत्कृष्ट ढंगबाट पूरागर्न अनवरत रुपमा क्रियाशिल रहेको बताउनुभएको थियो ।
इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. प्रणव सेनले विपद व्यवस्थापनको क्षेत्रमा व्यावसायिक कार्यकुशलता प्रदर्शन गर्दै आएको सशस्त्र प्रहरी बल नेपालका गोताखोरहरुलाई कम्पनीको स्थापना दिवसको अवसरमा एक वर्ष अवधिको निःशुल्क बीमा प्याकेज ल्याइएको बताउनुभयो ।
उहाँले जोखिमयुक्त मात्र नभएर हरेक कार्यका लागि बीमा कार्यक्रम महत्वपूर्ण रहेको चर्चा गर्नुहुँदै व्यक्तिगत रुपमा समेत बीमा जरुरी रहको उल्लेख गर्नुभयो ।
सशस्त्र प्रहरी बल नेपालमा कार्यरत २० जना सशस्त्र प्रहरी अधिकृत, विल्लादार तथा जवानहरुको लागि प्रति व्यक्ति दुई लाख रुपैयाँको दरले निःशुल्क रुपमा व्यक्तिगत दुर्घटना बीमा गरिएको हो ।