७० हजार शिवलिंग तयार

0
Shares

हेटौंडा,(नेस) । हेटौंडा–९, कुष्माण्ड सरोवरमा त्रिवेणीधाममा जारी सवा लाख महाशिवलिंग निर्माण महायज्ञमा शुक्रबारसम्म ७० हजार शिवलिंग निर्माण भएको छ ।
गुप्तेश्वर क्षेत्र विकास कोष, हेटौंडा तथा शिव सेना नेपाल मकवानपुरको संयुक्त आयोजनामा भएको महायज्ञमा १० लाख दीप संकलन भएको छ । दैनिक भक्तजनको सहभागिता वृद्धि भइरहेको र मकवानपुरसहित विभिन्न जिल्लाबाट भक्तजन आउने गरेको बताइएको छ । १ करोड दीप बाल्ने लक्ष्य लिइएको महायज्ञमा १० लाख दीप संकलन भइसकेको छ ।
एक करोड हवन गर्ने लक्ष्य लिइएको महायज्ञमा ५० लाख हवन, ५५ लाख बेलपत्र अर्पण भएको बताइएको छ । शुक्रबार २ हजार ५ सय जनाले महायज्ञ अवलोकन गरेको आयोजकको भनाइ छ ।
शनिबार हेटौंडा–१८, हटियाका खेलबहादुर खड्काले तुलादान गरेको बताइएको छ । तुलादानबाट २५ हजार रुपियाँ दान प्राप्त भएको छ । मंसिर २६ गतेदेखि सुरु महायज्ञ पुस १६ गतेसम्म सञ्चालन हुनेछ ।