धरानमा चल्यो ६ घन्टासम्म कन्सर्ट

0
Shares

धरानको पब्लिक स्कुलको मैदानमा साँझ साढे ५ बजेदेखि करिब ६ घन्टासम्मको लामो तर यो वर्षकै भब्य म्युजिकल कन्सर्ट मेगा लाइभ कन्सर्ट– २०१७ सम्पन्न भएको छ।
कन्सर्टमा राति १० बजेमात्र स्टेजमा उक्लिएका गायक एड्रिन प्रधानले आफ्नो फ्रेन्ड्स ब्यान्डका साथ करिब डेढ घन्टा धराने दर्शकलाई गीतको तालमा नचाए।

प्रस्तुति हेर्न साढे चार घन्टादेखि बसेका दर्शकलाई एड्रिनले नभन मेरो, परेलीमा, हिँडदा हिडँ्दै दोबाटोमा, पहिलो जुनीमा, धेरै धेरै आउँछ मनमा, पिंजडाको सुगा, बिर्सेर मलाई, अभिवादन, खैरो खैरो कपाल तिम्रो, गुराँसै फुल्यो, जति माया लाए पनि, सगरमाथा हाम्रै हो, यो मन त मेरो नेपाली हो हुँदै सम्बोधन तिमीलाई बोलको गीत गाएर कन्सर्टको मैजारो गरेका थिए। एड्रिनका प्रत्येक गीतमा दर्शकले एड्रिनसँगै गाउँदै साथ दिएका थिए। करिब ५ वर्षपछि धरानको कन्सर्टमा देखा परेका एड्रिन मध्य रातसम्म पनि संयमित धराने दर्शक देखेर दंग परे।

कन्सर्ट धरान–१३ अमरहाटमा धरान बाल उधान तथा हेल्थ पार्क निर्माण कार्य शुरू गर्नका लागि आयोजना गरिएको थियो। नेपाल क्लब हङकङको आयोजना तथा सिल्भर इन्टरटेनमेन्टको इभेन्ट म्यानेजमेन्टमा भएको कन्सर्टमा धराने गायक डिल्ली फोम्बोले आफ्ना चर्चित गीत माइली, म माया लाउँदिन, आउँछु म भनेर गाएर दर्शक रिझाए। अर्का धराने गायक शिव लामिछानेको प्रस्तुति पनि आकर्षण रह्यो। उनले आफ्नो कृपा फाउन्डेसन ग्रुपसँग जय नेपाल बोलको नयाँ गीत प्रत्यक्ष गाएर सार्वजनिक मात्र गरेनन्, किन दुख्छ मुटु मेरो, पुरानो मायालाई, उकाली ओरालीहरूमा, चाहे माया गरजस्ता आफ्ना चर्चित गीत गाएर दर्शकलाई उतिकै मन्त्रमुग्ध बनाए।

त्यस्तै ऊर्जा ब्यान्डका गायक प्रशान्त शर्माको आँखा आँखामासँगै पुराना गायक नवराम राईले कालो कालो रात र विश्वास के हो, मनोज मोतेले टाढा जाने र हाम्रो जीवन, रमेश राईले धरानेको बजारैमा, बबिन लिम्बुले धरानको पुरानो बजारमा, एपी शेर्पाले गरौं संकल्प सलल बगेर जाने पानी, साक्थिम योङयाको कोदो है फल्ने, तुहिन लिम्बुले जिन्दगी बोलका गीत प्रस्तुत गरेका थिए।