विपक्षी झिकाउन सर्वोच्चको आदेश

0
Shares

काठमाडौं, (नेस)
सर्वोच्च अदालतले मतगणनाका क्रममा अनियमिता भएको भन्दै दायर भएका मुद्दामा विपक्षीलाई ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ।
प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शमशेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले विपक्षीलाई ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो।

संखुवासभाका प्रतिनिधिसभा उम्मेदवार दीपक खड्काले पुनः मतगणना गर्न माग गर्दै गरेको मुद्दामा अन्तरिम आदेश दिँदै छलफलका लागि आउँदो पुस १९ गते झिकाउने र निर्वाचनमा प्रयोग भएका सबै मुचुल्का, मतपत्रलगायतका कागजात झिकाउनसमेत आदेश भएको छ।

त्यसैगरी, संवैधानिक इजलासले तनहुँ क्षेत्र नम्बर १का प्रदेशसभा (क) उम्मेदवार प्रदीप पौडेलले मतगणनाका क्रममा तनहुँमा धाँधली भएको भन्दै परेको मुद्दामा अन्तरकालीन आदेश दिने वा नदिने विषयमा छलफलका लागि यही पुस १९ गते दुवै पक्षलाई झिकाउन आदेश दिइएको छ।

त्यसैगरी, धनुषा क्षेत्र नं ३ मा प्रतिनिधिसभाका उम्मेदवार रामसिंह यादवले धाँधलीपूर्ण तरिकाले निर्वाचन भएकाले सो निर्वाचन बदरको माग गर्दै दायर गरेको मुद्दामा छलफल र अन्तरिम आदेश दिने वा नदिने विषयमा पुस १९ नै संवैधानिक इजलासले झिकाउने आदेश जारी गरेको छ।