न्यानो कपडा खरिदमा अनियमितता

0
Shares

राम धामी, डडेल्धुरा

डडेल्धुराको भित्रिमधेस क्षेत्रस्थित परशुराम नगर कार्यपालिकाद्वारा गठित छानबिन समितिले न्यानो कपडा खरिद प्रकरणमा आर्थिक अनियमितता भएको ठहर गर्दै सो कार्यमा संलग्न दोषीलाई कडा कारवाहीको माग गरेको छ।

परशुराम नगरपालिका कार्यालयले नगर क्षेत्रका जेष्ठ नागरिकका लागि न्यानो लुगा खरिद गर्दा आर्थिक अनियमितता भएको नगर कार्यपालिकाद्वारा गठित छानबिन समितिले बिहीबार जोगबुडामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो।

नगर कार्यपालिकाबाट वडाध्यक्ष केशब बोहराको अध्यक्षतामा गठित छानबिन समितिले छानबिन प्रतिवेदन सार्वजनिक गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरलाल शाक्य र सूचना अधिकृत जगन्नाथ जोशीको मिलोमतोमा जेष्ठ नागरिकहरूका लागि न्यानो कपडा खरिदमा आर्थिक अनियमितता र भ्रष्टाचार भएको ठहर गरेको हो।

बजार दररेटभन्दा झण्डै तेब्बर मुल्यमा न्यानो कपडा खरिद गरिएको र कोटेसनमार्फत खरिद गरिएका कपडा गुणस्तरहीन भएकाले सो कार्यमा संलग्न प्रमुख प्रशासकीय अधिकृतसहित संलग्न कर्मचारीलाई कर्मचारी नियमावलीअनुसार कारबाही गर्न सिफारिस गरिएको छानबिन समितिका संयोजक परशुराम नगरपालिका–७ का वडाध्यक्ष बोहराले पत्रकार सम्मेलनमा जानकारी दिए।

उनले नगरप्रमुख भिमबहादुर साँउदले पहिला पेश गरिएको बिल गलत भएकाले नयाँ बिल पेश गरिएको भन्दै दोषीलाई जोगाउन खोजेको आरोपसमेत लगाए। गत साता न्यानो कपडा खरिदमा आर्थिक अनियमितता भएको भन्दै वडास्तरका जनप्रतिनिधिहरूले जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण कार्यमा अवरोध गरेका थिए।

नगरपालिकाले नगर क्षेत्रमा रहेका ८० बर्ष पुरा गरेका ७ सय ५० जना जेष्ठ नागरिकका लागि न्यानो कपडा खरिद गर्ने निर्णय गरेको थियो। कोटेसन मार्फत हरेक जेष्ठ नागरिकका लागि स्वीटर, कम्बल र कम्बलको खोल खरिद गरिएको नगरपालिकाले जनाएको छ। न्यानो कपडा खरिदका लागि कैलालीको धनगढीस्थित एबीआर सप्लायर्सको कोटेसन सदर भएको र सोही सप्लायर्सले कपडा वितरण गरेको थियो।

‘३ वटै कोटेसन फारम एउटै व्यक्तिले भरेको पाइएको छ,’ छानबिन समितिका संयोजक बोहराले पत्रकार सम्मेलनमा भने– ‘कर्मचारीले आर्थिक अनियमितता गर्ने उद्देश्यले गल्ती गरेको पुष्टी भएकाले उनीहरूमाथि कडा कारबाही हुनुपर्छ।’

नगरपालिकामा सक्रिय राजनीतिक दलहरूले पनि सो प्रकरणमा दोषीहरूलाई कडा कारबाहीको माग गरेका छन्। नेकपा –एमाले परशुराम नगर कमिटिका कार्यबहाक अध्यक्ष गणेशबहादुर सिँह र नेकपा माओवादी केन्द्र परशुराम नगरकमिटिका अध्यक्ष शेरसिँह मालले संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै जेष्ठ नागरिकका लागि न्यानो कपडा खरिद गर्दा नगरपालिकाले आर्थिक अनियमिता गरेको पुष्टि भइसकेकाले दोषीउपर कडा कारबाही हुनुपर्ने माग गरेका छन्। परशुराम नगरपालिकास्तरीय संयुक्त वाम गठबन्धनका संयोजक शेरसिँह बोहराले आर्थिक अनियमितता गर्ने कार्यमा संलग्नलाई कारबाही नगरिए आन्दोलन गर्ने चेतावनी दिए।

नगरपालिकाबाट भ्याटसहित जनही ३ हजार ७५ रूपियाँका दरले न्यानो कपडा उपलब्ध गराइएको थियो। बजार मूल्यभन्दा निकै बढी दरमा कपडा उपलब्ध गराइएको र कपडा गुणस्तरहीन रहेको नगरपालिकाका वडाअध्यक्षहरू बताउँछन्। न्यानो कपडा खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै वडाध्यक्षहरूले कपडा बितरणमै अवरोध गरेपछि नगर कार्यपालिकाको आइतबार सम्पन्न बैठकले सो प्रकरणमा छानबिन गर्न ७ नम्वर वडाका अध्यक्ष बोहराको संयोजकत्वमा तीन सदस्यीय छानबिन

समिति गठन गरेको थियो। समितिका सदस्यहरूमा १२ नंम्बर वडाका वडाध्यक्ष गणेश जोशी र कार्यपालिका सदस्य धर्मेन्द्र नेपाली सदस्य रहेका थिए।