पूर्वराजा पश्चिम तराईतिर



काठमाडौं, (नेस)
पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार सुदूरपश्चिम र मध्यपश्चिम भ्रमणमा जाने हुनुभएको छ। अंग्रेजी नयाँ वर्षका दिन नेपालगन्जमा खोल्न लागिएको होटल सोल्टीको उद्घाटन र अन्य भेटघाटका लागि सुदूरपश्चिम र मध्यपश्चिम भ्रमणमा जान लाग्नुभएको हो।

पूर्वराजा ज्ञानेन्द्र सपरिवार पुस १२ गते बुद्ध एयरको विमानबाट नेपालगन्ज जान लाग्नुभएको हो। उहाँका साथमा छोरा, नाति–नातिनालगायत टोली नेपालगन्ज जान लागेको हो। नेपालगन्जमा होटल सोल्टी उद्घाटनपछि त्यहाँ पारिवारिक जमघट हुने भएको छ।

होटल सोल्टीकै स्वामित्वमा नेपालगन्जको कारकादोमा निर्माण सम्पन्न भएको सो होटलको अंग्रेजी नयाँ वर्ष अर्थात् पुस १७ गते उद्घाटन हुने भएको छ। पूर्वराजाको सुरक्षासहितको रेकी टोली आइतबार नेपालगन्ज जाँदै छ।

करिब दुई हप्ता मध्य र सुदूरपश्चिमको भ्रमणको तय गर्नुभएका पूर्वराजाले दुवै क्षेत्रमा आफू निकटका राजावादीसँग भेटघाट गर्नुहुने कार्यक्रम रहेको स्रोतले जनाएको छ।
पूर्वराजाका संवाद सचिव डा. फणिराज पाठकले शुक्रबार विज्ञप्ति जारी गरी पूर्वराजा ज्ञानेन्द्र र रानी कोमलको भ्रमण निश्चित भएको उल्लेख गर्नुभएको छ। विज्ञप्तिमा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह केही दिनको निजी भ्रमणको सिलसिलामा आगामी हप्ता मध्यपश्चिम तथा सुदूरपश्चिम जाने उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्