‘खुशी साथ घर फर्के खाली हात म्यादी’

0
Shares

रामधन राई, खोटाङ । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका क्रममा खोटाङमा खटिएका म्यादी प्रहरीले कमाएको रकम बचाउन नसके पनि खुशी साथ बिदाई भएका छन् । मंसिर १० र २१ गतेको निर्वाचनको सुरक्षार्थ भर्ना भएका म्यादी प्रहरीले सेवा सुबिधा बापत पाएको रकम बचाउन नसके पनि कुनै गुनासो नभएको बताएका छन् ।
जिल्लाबाट शुक्रबार बिदाई भएका म्यादी प्रहरीहरुले सरकारबाट प्राप्त गरेको जम्मा ५२ हजार रुपैंयाँ रकम महंगी तथा भौगोलिक बिकटताका कारण बचाउन नसके पनि शान्तपुर्बक निर्बाचन सम्पन्न गराउँदै अमुल्य अनुभब संगाल्न सकेकोमा खुशी ब्यक्त गरेका हुन् । छोटै समय भए पनि नागरिकको सुरक्षाको लागि खट्न पाएकोमा गर्ब गर्ने म्यादी प्रहरीले धेरै जना साथीहरुसँग चिनजान हुनु, प्रहरीको काम, कर्तब्य तथा अनुसासनको बिषयमा जानकारी लिन पाउनुलाई समेत ठूलो उपलब्धी मानेका छन् ।
जिल्लाका म्यादी प्रहरीहरुलाई प्रदान गरिएको जिम्मेवारी कर्तब्यनिष्ठ, ईमान्दार तथा अनुशासित ढंगले निर्बाह गरेकाले नै शान्त बातावरणमा उल्लासमय ढंगबाट निर्वाचन सम्पन्न गराउन सकिएको जिल्ला प्रहरी कार्यालय खोटाङको प्रमुख लोकदर्शन थापाले बताउनुभयो । म्यादी प्रहरीहरु अनुभव र जिम्मेवारीबोध सहित घर फर्किएको बताउनुहुने डीएसपी थापाका अनुसार अधिकांश म्यादी प्रहरीहरुले नेपाल प्रहरी भई देशको सुरक्षामा खट्ने मनसाय देखाएका छन् ।
१ सय ३६ मतदान स्थलको १ सय ७९ मतदान केन्द्रमा खटिएका ९ सय ८२ म्यादी प्रहरीलाई प्रमाणपत्र सहित बिदाई गरिएको हो । म्यादी प्रहरीहरु धेरैले आधा रकम बचाउन सकेको भए पनि कतिपयले चाहीँ सबै रकम खर्चमै सकिएको जनाएका छन् ।
कार्तिक ७ गतेदेखि दुई महिनाका लागि म्यादी प्रहरीले नियुक्ती पाएका थिए ।