मतदातालाई धन्यवाद दिन प्रधानमन्त्री पत्नी डा. आरजु राणा डडेल्धुरामा

0
Shares

राम धामी, डडेल्धुरा । प्रदेश तथा प्रतिनिधी सभा निर्वाचनमा देशभरिनै प्रतक्ष्य तर्फ काँग्रेसले पराजय भोग्नु परे पनि डडेल्धुरा जिल्लाबासीले काँग्रेसलाई विजयी गराएकोमा खुसी ब्यक्तगर्दै नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नी डा. आरजु देउवा राणाले जिल्लाबासी मतदाताहरुलाई धन्यवाद दिएकी छन् ।

नेपाली काँग्रेसको परम्परागत पकड मानिने प्रदेश नं. ७ मा समेत नेपाली काँग्रेस पराजित भएका बेला डडेल्धुराबासीले काँग्रेसलाई माया गर्न नछाडेकोमा डा. देउवाले जिल्लाबासी मतदाताहरुको खुलेरै प्रसंसा गरिन् । “२०१५ साल देखि डडेल्धुराबासीले कहिल्यै पनि काँग्रेसलाई विजय गराउन बिर्सेका छैनन् ।” उनले भनिन,“जिल्लाबासीले दिएको भोट हालसम्म खेर पनि गएको छैन् ।”
कार्यव्यस्ततताका कारण सबै जिल्लाबासी समक्ष पुग्न नसके पनि प्रधानमन्त्री देउवालाई मतदान गर्नुभएकोमा सबै जिल्लाबासीलाई धन्यवाद दिदैं उनले मतदातालाई धन्यवाद दिन समेत समय नपाएकाले प्रधानमन्त्रीका तर्फबाट धन्यवाद दिन आफु डडेल्धुरा पुगेको बताइन् । उनले जिल्लाबासीले प्रधानमन्त्री देउवाप्रति देखाएको स्नेह र मायाका कारण प्रधानमन्त्री कृतज्ञ हुनुभएको जानकारी दिइन् । “तपाईहरुले ६ पटक सम्म निरन्तर उँहालाई मतदान गर्नुभएको छ,” डा. राणाले भनिन, “तपाईहरुको मायाले सिँगो पार्टी पंक्ति जिल्लाबासी प्रति कृतज्ञ छ ।”

प्रतिनिधी तथा प्रदेश सभाको पुर्वसन्ध्यामा ज्योतिषीले पहिलो पार्टी एमाले भएपनि प्रधानमन्त्री शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्ने बताएको चर्चागर्दै उनले यसपाली पनि जिल्लाबासीले दिएको भोट खेर नजाने दाबी गरिन् । “शेरबहादुर देउवा अन्तराष्ट्रिय स्तरमै ख्याती प्राप्त नेताहुन् ।” उनले भनिन,“काँग्रेस पहिलो पार्टी बन्न नसकेपनि प्रधानमन्त्री देउवा पुनः प्रधानमन्त्री बन्नुहुन्छ, ढुक्क रहनुहोस ।”
प्रदेश सभाबाट निर्वाचित नेपाली काँग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्ल साँच्चै बहादुर भएको टिप्पणीगर्दै उनले आफु र सभापति मल्ल बीच पटक पटक ठाकठुक पर्ने भएपनि पार्टीका लागि मल्ल अत्याबश्यक नेतृत्वका रुपमा स्थापित भइसकेको बताइन् । “मल्लसँग मेरो पनि झगडा भइरहन्छ तर, उनले पनि काँग्रेस कमजोर भएका बेला प्रदेश सभामा जितेर आफुलाई बहादुर भएको पुष्ठी गरिसकेका छन् ।”

प्रधानमन्त्री पत्नी डा. देउवाले भनिन,“विपक्षी दलका नेताहरुका लागि अब कर्ण मल्लनै चुनौती बनिसकेका छन् ।” उनले पार्टीभित्रका असन्तुष्टी ब्यवस्थापन गर्न जिल्ला नेतृत्वलाई आग्रहगर्दै डडेल्धुरामा काँग्रेसलाई सुदृढ बनाउन आफ्नो तर्फबाट भूमिका निवार्ह गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।

कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट आफु पराजित भएपनि डडेल्धुराबासीले दुई पटक सभासद बनाएको स्मरणगर्दै डा. राणाले प्रदेश नं. ७ मै बसेर यस क्षेत्रको विकासका लागि आफु सदैव प्रयत्नसिल रहने बताइन् । “राजनीतिक रुपमा मात्र होइन, सामाजिक क्षेत्रबाट पनि यस क्षेत्रको सर्वागिंण विकासका लागि म प्रयत्नसिल रहिरहने छु ।” उनले भनिन् ।
बुधबार जिल्लाबासीलाई धन्यवाद दिन डडेल्धुरा सदरमुकाम पुगेकी डा. देउवालाई नेपाली काँग्रेस डडेल्धुराका नेता कार्यकर्ताहरुका साथै जिल्लाबासी मतदाताहरुले भब्य स्वागत गरेका थिए । बाजागाजासहित डा. देउवालाई स्वागत गर्न गाँउ गाँउबाट नेता कार्यकर्ताहरु सदरमुकाम पुगेका थिए ।