एक एक पैसाको सदुपयोग गर्ने प्रतिवद्धता सहित मुसहर बस्तीको सिलान्यास

0
Shares

काठमाडौं । परोपकारी पत्रकारिताको नमुना प्रस्तुत गर्दै नेपाल ब्रोडकास्टिङ च्यानल अन्तर्गत न्युज २४ टेलिभिजनले सप्तरीको तिलाडी कोइलाडीमा बाढी पीडितका आवास निर्माण सुरु गरेको छ । टेलिभिजनको सिधा कुरा जनतासँगको कार्यक्रमको विशेष पहलमा सुरु भएको आवास निर्माण कार्यक्रमले उदाहरण प्रस्तुत गरेको सहभागीहरुले बताएका छन् ।

गत असारमा गएको बाढी र डुबानले प्रभावित बनेको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको मुसहर बस्तीमा न्युज २४ टेलिभिजनले नमूना आवास निर्माण थालेको हो । सोमबार विशेष कार्यक्रमकाबीच आवास निर्माणको शिलान्यास गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले न्युज २४ टेलिभिजनको यो अभियान परोपकारी पत्रकारितको नमूना भएको उल्लेख गर्नुभयो ।

उहाँले सञ्चारमाध्यामले खवरदारी मात्र होइन, मुलुकको विकास निर्माणमा योगदान पु¥याउँछन् भन्ने उदाहरण न्युज २४ टेलिभिजनले प्रस्तुत गरेको बताउनुभयो । अध्यक्ष यादवले नेपालकै पछाडि परेको मुसहर समुदाय गाँस, बासकै समस्यामा रहेको समेत उल्लेख गर्नुभयो ।
कार्यक्रममा न्युज २४ को अध्यक्ष अनिल जोशीले सञ्चारमाध्यामको भूमिका समाचार मात्र नभएर समाजका उत्तरदायित्व पूरा गर्नुपर्ने पनि भएको बताउँनुभयो । उहाँले सामाजिक उत्तरदायित्व पूरा गर्न आफूहरु जहिले पनि तयार रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश सांसद, प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डे, गाउँपालिकाका अध्यक्ष लगायतले न्युज २४ टेलिभिजनको कामको सह्राना गर्नुभएको थियो ।