मतदाता शिक्षा प्रभावकारी भएन प्रदेशसभातर्फ १० लाख मत बदर

0
Shares

सुनील महर्जन, काठमाडौं
निर्वाचनमा लाखौं मत बदर हुनुले निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता शिक्षाको प्रभावकारितामाथि प्रश्न उठेको छ। निर्वाचन आयोगको आधिकारिक वेभसाइटमा राखिएको तथ्यांक अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ १० लाखभन्दा बढी मत बदर भएको छ। अर्थात् कुल मतदानको ९ दशमवल ८४ प्रतिशत मत बदर भएको हो।

त्यसै गरी प्रदेशसभातर्फ १० लाख ४२ हजार ७ सय ७७ मत बदर भएको देखिएको छ। आयोगको तथ्याङ्क अनुसार प्रदेश सभातर्फ प्रतिनिधि सभामा भन्दा बढी मत भदर भएको छ। सातवटै प्रदेशमा गरी ९० लाख १९ हजार ४ सय ३० मत मात्र सदर भएको हो।

मतदाता शिक्षाका लागि २० हजार स्वयम्सेवक परिचालन गर्दै करोडौं रकम खर्च गर्ने गरे पनि मतदाता शिक्षा प्रभावकारी नभएको पुष्टि भएको २०४८ सालदेखि निर्वाचन पर्यवेक्षण गर्दै आउनुभएका आम निर्वाचन पर्यवेक्षण समितिका महासचिव कृष्णमान प्रधानले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘मतदाता शिक्षा अपुरो, अधुरो र प्रभावकारी रहेन।’

निर्वाचन अवलोकनका क्रममा एउटै मतदाताले तीनवटा मतपत्रमा चारवटा छाप लगाउनुपर्ने भन्ने भनेर मतदातासमक्ष राम्ररी जानकारी नभएको पाइएको बताउँदै महासचिव प्रधानले भन्नुभयो– ‘खास गरी समानुपातिकतर्फको मतदान गर्दा कतिपय मतदाताहरू अलमलमा परेको पाइयो। एकैचोटि चारवटा मतपत्रमा मतदान गर्नुपर्दा बदर मतको संख्या बढी भएको हो।’

मत बदरको प्रारम्भिक तथ्याङ्कले मतदाता शिक्षाको प्रभावकारितामा प्रश्न खडा भएको राष्ट्रिय निर्वाचन पर्यवेक्षक समितिका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले बताउनुभयो। ‘निर्वाचनको सम्पूर्ण प्रक्रियामा समानरूपमा सक्रियतापूर्वक समेट्न सकेनन्’ –उहाँले भन्नुभयो।

सातवटै प्रदेशमा गरी ९० लाख १९ हजार ४ सय ३० मत मात्र सदर भएको थियो। ‘स्थानीय तह निर्वाचनमा १ करोड ४ लाख ३६ हजार ३ सय २५ मत खसेकोमा त्यसको झन्डै ११ प्रतिशत मत बदर भएको थियो।
यस पटक मतदाता शिक्षाका लागि ९५ करोड रुपियाँ तथा विभिन्न तालिमका लागि ४७ करोड ५९ लाख ६३ हजार खर्च विनियोजित गरिएको थियो। आयोगले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सुरक्षा तथा व्यवस्थापन तालिमका लागि १० लाख ७३ हजार, निर्वाचनसम्बन्धी सञ्चार तालिममा ७४ लाख ८० हजार, केन्द्रमा दिइने मतदाता तालिमका लागि ९ करोड ८८ लाख ५७ हजार खर्चेको थियो।