सबै युवा विदेशिएपछि सुनसान गाउँ, मलामी पनि भएनन् !

0
Shares

विनोद सिंह विष्ट, बैतडी । देशमा रोजगारीको अवसर नहुँदा अधिकांश यूवा रोजगारीका लागि भारत गएपछि बैतडीका विभिन्न गाउँहरु यूवा विहिन भएका छन् । गाउँमा कोही मान्छे मृत्यु भएपनि मलामी जान समेत यूवा नपाइने गरेको सुर्नया गाउँपालिकाका शिक्षक गणेशदत्त अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो ‘गाउँहरु यूवाविहीन हुँदा मलामी जान समेत यूवा मिल्दैनन्’
हिउँद लागेसंगै यूवाहरुको मजदुरी गर्न सीमावर्ती भारतीय शहरमा पसेपछि गाउँहरु यूवा विहिन भएका हुन् । गाउँमा महिला र वृद्धवृद्धा मात्रै भएको दोगडाकेदार गाउँपालिका ३ का हेमराज गिरीले बताउनुभयो । उहाँले भन्नुभयो “यूवाहरु रोजगारीका लागि भारत गएपछि विकास निर्माणका कामहरुमा समेत सुस्तता आउने गरेको छ ”
विकास निर्माणका काममा बुढाबुढी र महिलाको मात्रै सहभागिता रहेको पाइन्छ । गाउँमा हुने विकास निर्माण मात्रै नभएर अन्य सामाजिक कामका लागि यूवा नहुँदा समस्या हुने गरेको छ ।
परिवार पाल्नकै लागी भनेर उहाँका अधिकांस यूवा भारत जाने गरेका छन् ।
सीमानामा झुलाघाट हुदै भारत जानेको लर्को
प्रदेश नम्बर सातका पहाडी जिल्लाका नागरिक रोजगारीका लागि बैतडीको झुलाघाट नाका हुँदै भारत पस्न थालेका छन् । गहुँबाली छरेर हिउँदमा रोजगारीका लागि भारतका विभिन्न शहर पुग्ने गरेको बझाङको बित्थडचीर गाउँपालिका वडा नं ४ का धनबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो“ परिवार पाल्नका लागि गाउँघरमा कुनै श्रोत नभएपछि बाध्य भएर भारत जानुपरीरहेको छ ।”
अहिले प्रदेश नम्बर सातका बैतडी, बझाङ, डडेल्धुरा, डोटी, अछाम र बाजुरका स्थानीय नागरिक रोजगारीको खोजीमा झुलाघाट नाकाबाट सैयौंको संख्यामा भारत पस्ने गरेको सीमा प्रहरी चौकी झुलाघाटका इन्चार्ज चक्रदेव पाण्डेयले बताउनुभयो । दैनिक ३ सय नेपाली नागरिक भारत जानेगरेका छन् । उहाँले भन्नुभयो “विद्यार्थी उमेर देखि ६० बर्ष माथिका नागरिक समेत रोजगारीका लागि भारत जार्दैछन्” भारतमा रोजगारी गर्दा विभिन्न जोखिम भएपनि परिवार पाल्न बाध्य भएर भारत जानुपर्ने बाध्यता रहेको बझाङका ६५ बर्षीय गम्भीरे बोहराले बताउनुभयो । भारतमा काम गर्दा सधै हेपिनुपर्दछ उहाँले भन्नुभयो “कतिपय ठाउँमा काम गरेको पैसा समेत नपाउने गरेको र डोट्याल भनेर हेपिनुपर्छ ।”
नेपालमा रोजगारीको अवसर नहुँदा यहाँका नागरिक परिवार पाल्न भारतकै भर पर्नुपर्ने बाध्यता रहेको छ ।
भारतमा रोजगारी गर्दा विभिन्न समस्या झेल्नुपरेपनि गाउँमा रोजगारीका कुनै सम्भावना नहुँदा भारत जानुपर्ने आफूहरुको नियति बनेको बझाङका नरेन्द्रबहादुर बोहराले बताउनुभयो । साहुको गाली,डरधम्की सहेर पनि काम गर्नुपर्छ उहाँले भन्नुभयो“ प्रत्येक हिउँदमा कामका लागि भारत जाने र नयाँ बर्षका लागि घर फर्कने गरेका छौं”
राजनीतिक दलका नेताहरुले चुनावका बेला मात्रै रोजगारीका कुरा उठाउने तर चुनावपछि कसैले केही नगर्ने मजदुरीका लागि भारत पस्नेहरुको गुनासो छ ।