भोट माग्दा मात्रै लालपुर्जाको आश्वासन

0
Shares

हिक्मत नेपाली, दैलेख ।

सदरमुकाम नजिकै रहेको रातामाटे बस्ती । हरेक निर्वाचनमा हरेक दलका नेता र उम्मेदवार भोटका लागि पुगेकै हुन्छन् । स्थानीय तहको निर्वाचनमा भोट माग्न पुगेको दलका नेता र उम्मेदवार मंसिर २१ गते सम्पन्न संघ र प्रदेशको निर्वाचनमा पनि पुगे । निर्वाचन लगत्तै यो समुदायको समस्या पुरा गर्ने बाचा सहित फर्किए ।

स्थानीय तहको निर्वाचनमा गरेको प्रतिबद्धता फेरि दोहोर्याउदै फर्किएका दलका नेता र उम्मेदवार त्यो समुदायलाई फेरि फर्केर भने हेरेनन् ।

निर्वाचनका बेला गरिएका प्रतिबद्धताबारे बेखबर भएका रातामाटे बस्तीका स्थानीय बासीको एक हुल स्थानीय सरकारको ढोका ढक्ढक्याउदै नारायण नगरपालिकामै पुगेका छन् । लामो समयदेखि सामुदायिक बन क्षेत्रमा बसोवास गर्दै आएको रातामाटेको दलित बस्ती र बादी बस्तीका एक हुल सुकुम्बासी नगरपालिका कार्यालयमा छिर्दा कर्मचारी र सेवाग्राही छक्क परे । उनिहरु नगर प्रमुखको कार्यकक्षतर्फ लम्कीए । नगर प्रमुख रत्नबहादुर खड्का सँगै उपप्रमुख सावित्री मल्ल, वडाध्यक्ष तीर्थनारायण श्रेष्ठ र प्रमुख प्रशासकिय अधिकृत जगत बस्नेत पनि आफ्नो कार्यकक्ष छाडेर नगर प्रमुख नजिक जम्मा भए ।

हुल बाँधेर आएका दलित सुकुम्बासीलाई कार्यालयको सभा हलमा राखेर नगर प्रमुखसहितको सहभागितामा छलफल सुरु भयो । अधिकांश महिला र बालवालिका सहित ५० भन्दा बढी दलित सुकुम्बासी कार्यालयमा छिर्नुको मुख्य कारण थियो लालपुर्जा । सुकुम्बासी बस्तीका अधिकांश पुरुषहरू सदरमुकाममा ज्याला मजदुरीमा व्यस्त रहेकाले नगरपालिकामा लालपुर्जाको माग राख्दै आउने धेरैजसो महिला मात्र देखिन्थे ।

नगरपालिका कार्यालयमा ति दलित सुकुम्बासीको भिड जम्मा भएपछि व्यस्त बनेका जनप्रतिनिधिले उनीहरूसँग कुरा नगरी सुखै पाएनन् । नगरपालिकाको हलमा खचाखच सुकुम्बासीले नगर प्रमुख खड्कालगायत उपस्थित जनप्रतिनिधिलाई आफ्नो मागसहितको ज्ञापन पत्र बुझाएपछि सधैं आश्वासन मात्र बाड्ने भन्दै एका एक कराउन थाले ।
आफ्ना लिखित मागसहित नगरपालिका कार्यालयमा आएका ति दलित सुकुम्बासी सबैको एउटै स्वर सुनिन थाल्यो, ‘हामीलाई लालपुर्जा चाहियो ।’ सुकुम्बासीको अगुवाई गर्दै आएकी गीता बादीले भनिन, ‘भोट माग्दा मात्रै लालपुर्जा दिन्छौं भनेर भन्नुहुन्छ, जितेपछि हामीलाई बेवास्ता किन ?

अर्की अगुवा लिला नेपालीले चर्को स्वरमा भनिन, ‘सधैं आश्वासन मात्र दिनुहुन्छ । हाम्रा लागि किन पहल गर्नुहुन्न ?’ गीता र लिलाजस्तै अरू पनि त्यही भन्दै केही समय बोली राखे । नगर प्रमुख खड्काले आफ्ना कुरा राख्न थालेपछि नगरपालिका पुगेका दलित सुकुम्बासी एकाग्र भए । ‘स्थायी लालपुर्जाका लागि हामी सधैं तपाईहरूको पक्षमा छौं । कसैले तपाईहरू बसेको ठाउँबाट उठाउन पाउदैन’, दलित सुकुम्बासीलाई निर्वाचन पछि पछि आश्वासन बाँड्दै खड्काले भने, ‘अब लालपुर्जा नगरपालिकाले नै दिन्छ, तर त्यसका लागि कानुन निर्माण गर्नुपर्छ ।’ कानुन निर्माण गरी नगरसभाबाट पारित गर्नुपर्ने भएकाले त्यसकार्यमा जुटिसकेको आश्वासन उनले दिए । दलित सुकुम्बासीको माग जायज भएको र माग सम्वोधन गर्न कुनै बाधा अवरोध नहुने भन्दै नगरप्रमुख खड्काले त्यसका लागि केही समय अझै पर्खन उनीहरूलाई अनुरोध पनि गरे । नगर प्रमुखसँगै उपप्रमुख मल्ल र वडाध्यक्ष श्रेष्ठले पनि तत्काल माग सम्वोधन गर्न नसके पनि लालपुर्जा दिलाएर नै छाडने उद्घोष गरेपछि ति दलित सुकुम्बासी फर्किए ।

दलित सुकुम्बासी लालपुर्जाको माग राख्दै यसभन्दा पहिले पनि तिनचोटी नगरपालिका कार्यालय पुगेका थिए । तर सधैंको आश्वासनले दिक्क भएका उनीहरू अहिले पनि आफ्ना माग लिएर कार्यालयमा धाउन छाडेका छैनन । सुकुम्बासी बस्तीकै लक्षिराम नेपाली भन्छन, ‘जहिलेसम्म हाम्रो माग पुरा हुँदैन, त्यतिबेलासम्म हामी दबाब दिन छाड्दैनांै ।’ २०२८ सालमा सरस्वती गाउँपञ्चायतका तत्कालिन प्रधान नरबहादुर केसीले दैलेखकै कुसापानीको डाँडासरुबाट तीन घर दलितलाई रातामाटे ल्याएका थिए । उनले ती दलितलाई त्यहाँ ल्याएर राखे तर उनीहरुको नाममा कुनै जमिन बनाइदिएनन । सरुबाट आएका रविलाल दमाई, अमृत दमाई र हरिलाल दमाई ऐलानी जग्गामा घर बनाएर बसे । तत्कालिन प्रधानले उनीहरुको नाममा जग्गा नबनाई दिएकोले आजभोली ती दलितका नातीहरुले दुःख भागिरहेको छन् ।

५० को दशकमा भएको नापीमा ती दलितहरुले जग्गा नाप्ने प्रयास गरेपनि विवादका कारण उनीहरुले जग्गाको लालपूर्जा पाएका थिएनन् । नापी हुँदा कुइकानावासीले वनको जग्गा नाप्न नपाइने बताएपछि ती दलितले लालपूर्जा बन्न सकेको थिएन् । नारायण नगरपालिका –१ रातामाटे स्थित दलित बस्तीमा अहिले २० घरपरिवारको बसोवास गर्दै आएका छन् । दैलेख सदरमुकामसँगै जोडिएको नारायण नगरपालिका १ कुइकानाको रातामाटे दलित बस्ती आधा शताब्दीदेखि भूस्वामित्व बीहिन छ । पटक पटकको निर्वाचनमा उक्त समुदायमा गरिएको प्रतिबद्धता पुरा भने अहिले सम्म हुन सकेको छैन् ।