मलाई कुनै नेता वा मन्त्रीले नियुक्त गरेको होइन – निकिता पौडेल

0
Shares

रश्मी थापा

चलचित्र विकास बोर्डकी नवनियुक्त अध्यक्ष हुन् निकिता पौडेल। गोपीकृष्ण इन्टरटेन्मेन्ट तथा गोपीकृष्ण मुभिजको अध्यक्ष उनी नेपाल चलचित्र विकास कम्पनीको पूर्वअध्यक्षसमेत हुन्। फिल्म निर्माणमा सक्रिय उनी थाइल्यान्डबाट प्रोडक्सन एन्ड मास कम्युनिकेसनमा स्नातक तथा स्नातकोत्तर गरेर नेपाल फर्किएपश्चात फिल्म निर्माण कार्यमा सक्रिय छिन्। उनले शुक्रबार मात्र बोर्डको पदबहाली गरेकी छिन्। बोर्डको पहिलो महिला अध्यक्ष भएकी फिल्मकर्मी उद्धव पौडेल पुत्री उनीसँग गरिएको कुराकानी यहाँ पस्तुत छः

चलचित्र विकास बोर्डमा पहिलो महिला अध्यक्षको रूपमा नियुक्ति पाउँदा तपार्इंलाई कस्तो लागिरहेको छ ?

म चलचित्र विकास बोर्डको अहिलेसम्मको सबैभन्दा कम उमेरकी र पहिलो महिला अध्यक्षको रूपमा आएको छु। सानैदेखि सिनेमा देखें, सिनेमामै हुर्कें, सिनेमा हेरें र सिनेमा नै पढें पनि। यो क्षेत्रमा मेरो १३ वर्षको अनुभव छ। नेपाली सिनेमामा ४० वर्षदेखि निरन्तर लागिरहेको परिवारबाट आएको हुनाले म सिनेमा क्षेत्रका लागि नै जन्मेको हो र यही क्षेत्रमा केही गर्छु भन्ने लागेको थियो। चलचित्र विकास बोर्डको अध्यक्ष बन्दा खुसी लागेको छ, त्यसैले अझ धेरै काम गर्ने लक्ष्य लिएको छु।

तपाईंसँगै अध्यक्षका लागि आवेदन भर्ने धेरै हुनुहुन्थ्यो। तपाईं नै के कारणले अध्यक्षमा नियुक्त हुनुभयो ?

सायद एजुकेसन नै पहिलो कारण हो। मैले यसको क्राइटेरिया हेर्दा कुनै पनि फिल्डमा ब्याचलर गरेको र सम्बन्धित क्षेत्रमा १० वर्षको अनुभव हुनुपर्ने थियो। मैले ब्याचलर र मास्टर प्रोडक्सन एन्ड मास कम्युनिकेसनमा गरेको थिएँ। सायद म नै यही फिल्डमा ब्याचलर र मास्टर गर्ने एकमात्र क्यान्डिडेट थिएँ। मसँग एक्सिपिरियन्स पनि थियो। नेपाली फिल्मको इतिहासमै राम्रो सिनेमा कुसुमे रुमाल मेरो बुबाले निर्माण गर्नुभएको थियो। मेरो रगतमै सिनेमा छ। फ्यामिली ब्याकग्राउन्ड, एजुकेसन तथा एक्सपिरिएन्स सबै कारणले मलाई अध्यक्षमा नियुक्त गरियो जस्तो लाग्छ। त्यसैले महिला भएर पनि केही गर्यो भन्ने कुरा म आफ्नो कार्यकालमा गरेर देखाउँछु।

चलचित्र विकास बोर्डको नेतृत्व सम्हालिसकेपछि बोर्डमा के–कस्तो समस्या देख्नुभयो ?

अस्ति नियुक्तिपत्र प्राप्त भए पनि बोर्डमा मेरो आज पहिलो दिन हो। यहाँ भएका समस्या मैले पहिचान गर्नै बाँकी छ। तर, मैले बोर्डमा आउनु ६ महिना अघिदेखि रिसर्च गरेको थिएँ। यसबाट मैले आफूले गर्नुपर्ने कामहरूको केही लिस्ट बनाएको थिएँ। पहिलो त बक्स अफिस र इटिकेटिङ लागू गर्नुछ भने दोस्रोमा पहिला पहिलाका १६ र २५ एमएममा खिचिएका फिल्मको लाइब्रेरी बनाउने मन छ। त्यसको कन्टेन्ट एनएफडीसी (नेपाल चलचित्र विकास कम्पनी) मा छन्। त्यो सबै ल्याएर डिजिटलाइज्ड गर्ने मन छ। अन्य स–साना धेरै काम छन्। भन्न त सबैले म यस्तो गर्छु उस्तो गर्छु भन्छन्। तर, काम भने कमैले गर्छन्। बोल्नुभन्दा पनि म काम गरेर देखाउँछु। निकिाले २ वर्षमा यति गर्यो है भन्ने गरी काम गर्छु।

बक्स अफिसको कुरा उठेको धेरै समय भइसक्यो। तर, नेतृत्व तहमा पुगेपछि सबैले यस कुरालाई बिर्संदै आइरहेका छन्। बक्स अफिस लागू हुन नसक्नुको कारण के होला ?

त्यो त टेक्निकल समस्या धेरै छन्। सबै ठाउँमा इन्टरनेटको सुविधा नभएर र सबै ठाउँमा थियटर नभएर लागू गर्न नसकिएको होला। अघि पनि मैले भनिसकें मेरो पहिलो एजेन्डा नै बक्स अफिस र ई–टिकेटिङ हो। त्यो तुरुन्तै लागू हुन्छ।

तपार्इंको २ वर्षे कार्यकालमा चलचित्र क्षेत्रले प्रत्यक्षरूपमा के लाभ हासिल गर्ला ?

त्यसो त धेरै काम गर्न सकिन्छ। जसरी बुद्ध नेपालमा जन्मेको भनेर नेपाल चिनिन्छ, त्यसै गरी नेपाली फिल्मलाई संसारमा चिनाउनका लागि विभिन्न काम गर्नेछु। फिल्म डेभलपमेन्टका लागि दोलखामा फिल्म सिटी निर्माण हुँदै छ। त्यसलाई राम्रोसँग सञ्चालन गर्न मद्दत गर्छु। राम्रो फिल्म बनाउन निर्माता निर्देशकहरूलाई एन्करेज गर्नेछु र सिनेमा क्षेत्रको हितमा काम गर्नेलाई विकास बोर्डबाट सक्दो सहयोग गर्छु। जे गरे पनि सिनेमालाई मद्दत हुने काम नै गर्छु।

यही बीचमा राष्ट्रिय चलचित्र नीति बनेको छ तर कार्यन्वयन भने भएको छैन। नीति कार्यान्वयनका लागि तपार्इंको के भूमिका रहन्छ ?

पहिले त म नीति राम्रोसँग अध्ययन गर्छु र आफ्नोतर्फबाट गर्न सक्ने कामहरू गर्छु।

विकास बोर्ड राजनीतिक कार्यकर्ता भर्नाको थलो बन्दै आएको गुनासो सुनिन्छ। तपाईं यसलाई रोक्न के गर्नुहुन्छ ?

पहिले–पहिले चाहिँ हो। तर, म यस माध्मबाट बोर्डमा आएको होइन। गोरखापत्रमा भ्याकेन्सी देखेपछि यो पदका लागि चाहिने एजुकेसन हेरेर मैले आवेदन दिएको हुँ। सूचना हेर्दा कुनै पनि क्षेत्रमा ब्याचलर गरेको हुनुपर्ने थियो। मैले प्रोडक्सन एन्ड मास कम्युनिकेसनमा ब्याचलर र मास्टर गरेको थिएँ। यही फिल्डमा सायद मेरो जति यजुकेसन अरूको छैन होला भन्ने सोचें। यो क्षेत्रमा मेरो लामो अनुभव भएकाले यो पदका लागि म सक्षम छु भन्ने लागेर आवेदन दिएको थिएँ। म ओपन कम्पिटिसनबाट छनोट भएर चलचित्र विकास बोर्डमा आएको हँु। यदि क्राइटेरिया पूरा नगरी अन्य माध्मबाट आएको भए म अहिले बोर्डको अध्यक्ष हुँदैनथें। त्यस कारण मलाई अगामी दिनहरूमा पनि ओपन कम्पिटिसनबाट नै अध्यक्ष छनोट हुने छन् भन्ने लाग्छ।

तपार्इं बोर्ड अध्यक्ष भइसकेपछि फिल्म निर्माणलाई निरन्तरता दिनुहुन्छ कि हुन्न ?

फिल्म निर्माण गर्न त कम्पनी छँदै छ नि। म त २ वर्षसम्म अन्य कुराहरूमा ध्यान दिन्न। म गोपीकृष्ण इन्टरटेन्मेन्ट, गोपीकृष्ण मुभिज तथा चलचित्र विकास कम्पनीको अध्यक्ष थिएँ। बोर्डमा आइसकेपछि कम्पनीबाट मैले रिजाइन दिइसकें। गोपीकृष्ण इन्टरटेन्मेन्ट तथा गोपीकृष्ण मुभिजमा मेरो शेयर छ। म र मेरो २ भाइ बोर्ड मेम्बर हौं। म चलचित्र विकास बोर्डमा भएपछि उताको सबै भाइहरूले हेर्छन्। अब म २ वर्षसम्म उता एक्टिभ हुन्नँ। किनभने मैले बोर्डबाटै फिल्म क्षेत्रका लागि केही गरेर देखाउनु छ।

अहिलेको सरकारकाले चलचित्र विकास बोर्डलगायतका निकायमा गरेको नियुक्ति आगामी सरकार निर्माताहरूले नमान्ने भनेका छन् नि ?

यो त मलाई थाहा भएन। तर, यो फुल्ली गभर्मेन्ट नियुक्ति होजस्तो मलाई लाग्दैन। किनभने बोर्ड अध्यक्षका लागि गोरखापत्रमा सूचना निकालेर उम्मेदवार मागिएको थियो र त्यसको मापदण्डअनुसार सबै पक्रिया पूरा गरेपछि म बोर्डको अध्यक्ष नियुक्त भएको हुँ। यो राजनीतिक नियुक्ति नभएकाले पनि मेरो नियुक्तिलाई फरक पर्दैनजस्तो लाग्छ। मलाई कुनै नेता, पार्टी वा मन्त्रीले नियुक्त गरेको होइन। १३ जना उम्मेदवारबाट टप थ्री हुँदै छानिएर क्याबिनेटले पास गरेपछि नियुक्त भएकी हुँ। यो सबै प्रक्रिया पूरा गरेर नियुक्ति पाउँदा पनि त्यसलाई मान्यता नदिने हो भने भदौदेखि अहिलेसम्म गरेको मेहनत (अन्तर्वार्ता, प्रजेन्टेसन) लगायत त्यसै खेर जान्छ। त्यसैले पनि मेरो यो नियुक्तिलाई आगामी सरकारले पनि स्वीकार गर्नुपर्छ।