आचारसंहिता विपरीत कार्य गर्नेलाई एन प्याब्सनको कारवाही

0
Shares

भक्तपुर,(नेस) । राष्ट्रिय निजी तथा आवाशीय विद्यालय एशोसियसन नेपाल, नेशनल प्याब्सन भक्तपुरको छैटौं विशेष वार्षिक साधारणसभा चुनदेवीमा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष जीवी खड्काको अध्यक्षतामा सम्पन्न सभामा संस्थाका अध्यक्ष, सचिव र कोषाध्यक्षले प्रस्तुत गर्नुभएको सांगठनिक, आर्थिक वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गर्नुका साथै प्रस्तावित वार्षिक कार्ययोजना समेत पारित भयो । सभाले २०७४ कार्तिक १७, १८ र १९ गते चितवनको सौराहामा सम्पन्न छैटौं राष्ट्रिय महाधिवेशनमा जिल्लाको आचारसंहिता विपरीत कार्य गर्ने कार्य समिति पदाधिकारी र विद्यालयलाई कारवाही गरेको संस्थाका अध्यक्ष जी. वी. खड्काले जानकारी दिनुभयो ।
सभाले सदस्य विद्यालय भक्तपुर कमलविनायकस्थित राजेन्द्र कोजू प्रिन्सिपल रहेको भक्तपुर रोम्बस सेकेण्डरी स्कूल र कमलविनायकस्थित सरिता कोजू प्रिन्सिपल रहेको रोम्बस नेशनल स्कूललाई संस्थाको आचारसंहिताको ठाडो उल्लंघन गरेको, संस्थाको मानमर्दन हुने गतिविधिहरुमा संलग्न रहेर जिल्ला समितिलाई चुनौति दिएको ठहर गर्दै जिल्ला समितिको साधारण सदस्य समेत नरहने गरी सदस्यता खारेज गरेको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

साथै नेशनल प्याब्सनको छैटौं राष्ट्रिय महाधिवेशनमा केन्द्रित रही बसेको जिल्ला समिति भक्तपुरको बैठकबाट गरिएको सर्वसम्मत निर्णय विपरीत गोपनीयता भङ्ग गरेको, विधान र नियमावलीमा उल्लेखित आचारसंहिताको ठाडो उल्लंघन गरेको तथा संस्थाको मानमर्दन हुने गतिविधिहरुमा संलग्न रहेकोले जिल्ला कार्यसमिति उपाध्यक्ष तथा क्रियाटिभ ई.सेकेण्डरी स्कूल, महालक्ष्मी स्थान भक्तपुरका प्रिन्सिपल विश्वराम दुवाल, सह–कोषाध्यक्ष तथा रोशन ई. स्कूल सूर्य्विनायक, भक्तपुरका प्रिन्सिपल रत्नबहादुर राई र कार्यसमिति सदस्य तथा सिरिन केन ई. स्कूल कासन, व्यासी भक्तपुरका प्रिन्सिपल कमल सुवाललाई कार्यसमिति पदाधिकारीबाट पदच्यूत गरी साधारण सदस्य मात्र रहने गरी कार्यसमितिले गरेको निर्णयलाई विशेष साधारणसभाद्वारा सर्वसम्मत अनुमोदन गरेको संस्थाका सचिव शिवकृष्ण कवांले जानकारी दिनुभयो ।
सभामा निजी रुपमा सञ्चालित संस्थागत विद्यालयहरुमाथि राज्यले लिएको विभेदकारी नीतिप्रति चिन्ता व्यक्त गर्दै संस्थागत रुपमा आइपर्ने कुनै पनि समस्या, चुनौतीहरुको सामना गर्न एक ढिक्का भइ अगाडि बढ्ने प्रतिबद्धतासहित विशेष वार्षिक साधारणसभा सम्पन्न भएको उहाँले बताउनुभयो ।