‘वाम गठबन्धन संविधानको भावनाभन्दा बाहिर जाँदैन’



चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मर्म र भावनाभन्दा बाहिर नजाने बताए ।

नेपाल पत्रकार महासंघ चितवन शाखाले आयोजना गरेको चितवनबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई अध्यक्ष दाहालले संविधानमा भएको व्यवस्थाभन्दा बाहिर वाम गठबन्धन नजाने बताए ।

उनले संघीय गणतन्त्रको संविधान कांग्रेस, एमाले, माओवादीलगायत दलहरुबीच सहमति भएर बनाएकाले संविधानको मर्म र भावनाअनुसार नै देशलाई नेतृत्व दिने बताए । जनतासामु यही कबुल गरेको उनको भनाइ थियो ।

‘वामपन्थीले जितेपछि अर्कै केही हुन्छ भन्ने प्रचार विल्कुल गलत हो’ उनले भने । नेपालको इतिहासमा वामपन्थी नै बढी लोकतान्त्रिक, बढी जनपक्षीय, प्रेस स्वतन्त्रताको पक्षमा र कानूनी राज्यको पक्षमा दृढतापूर्वक उभिएको र आउने दिनमा अझ राम्रोसँग यी कुरा प्रमाणित हुने अध्यक्ष दाहालले बताए ।

देशमा राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिको मुख्य एजेण्डालाई प्रमुखता दिएर नै वाम गठबन्धन बनाएको र जनताले त्यसलाई राम्रोसँग अनुमोदन गरेको उनले बताए । नेपाली जनताको आशा र अपेक्षाअनुसार वामपन्थीको सरकारले राजनीतिक स्थायित्व प्रदान गर्ने, आर्थिक विकास र समृद्धिको नयाँ यात्रातिर देशलाई डोर्याउने अध्यक्ष दाहालको भनाइ थियो ।

‘सुशासन, भ्रष्टाचार महारोग भएको छ, यसलाई नियन्त्रण गर्ने, सुशासन कायम गर्ने जनताको प्रमुख आकांक्षा हो, त्यो हामीले पूरा गर्छौ’ उनले भने । दशकौँदेखि नेपाली जनताले यसैका लागि संघर्ष गर्दै आएको बताउँदै उहाँले भने ‘स्थायित्व दिन्छौँ, सुशासन दिन्छौँ र आर्थिक समृद्धिततर्फ देशलाई लैजान्छौँ भन्ने कुरा जनतासँग संकल्प गरेका थियौैँ, यो नेपाली जनताले उत्साहजनक ढंगबाट अनुमोदन गरेका छन् ।’

निर्वाचनमा जनताले वाम गठबन्धनप्रति देखाएको समर्थन गठबन्धनका नेताको लागि ठूलो जिम्मेवारी भएको र जनताले सुम्पेको त्यो जिम्मेवारी गम्भीरताका साथ आत्मसात् गर्ने र जनअपेक्षाअनुसार आफूहरुलाई अग्निपरीक्षामा खरो उतार्ने उनले बताए ।

वाम गठबन्धनलाई र निर्वाचनको यस विजयलाई संसारले ध्यानपूर्वक हेरेको भन्दै उनले भने ‘छिमेकीदेखि सिंगै अन्तरराष्ट्रिय समुदायको पनि यसतर्फ के होला भन्नेतिर गहिरो ध्यान छ, हामीले यसलाई गम्भीररुपमा लिएका छौँ ।’

कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले निर्वाचन जित्दैमा विकास नहुँने र विकास कठिन तर असम्भव नरहेको बताए । चितवन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पाण्डेले दृष्टिकोण र संकल्पसहित अघि बढेमा मात्रै विकास सम्भव हुने बताए ।

‘परिश्रमी जनता र संकल्पकसहितको इमान्दार सरकार भए विकासले गति लिन्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्