“लालकिल्ला” फेरि कायम



सुनील महर्जन, काठमाडौं
५५ वर्षअघिदेखि ललितपुरमा कायम ‘लालकिल्ला’ को रेकर्ड एकपटक तोडिए पनि यस निर्वाचनले फेरि कायम हुने पक्कापक्की भएको छ।
२०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा ललितपुरको ३ वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले जितेपछि सो ‘लालकिल्ला’ को रेकर्ड तोडिएको थियो।

बिहीबार भएको प्रतिनिधिसभाको निर्वाचनको मतपरिणामले फेरि ‘लालकिल्ला’ रेकर्ड कायम गरेको हो। एमाले र माओवादी केन्द्र संयुक्त वाम गठबन्धका रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएपछि यसअघिको ३ वटै निर्वाचन क्षेत्र जितेको नेपाली कांग्रेसका उम्मेदवार पराजय व्यहोर्नुपरेको थियो।

जिल्लाको ३ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णलाल महर्जन र ३ नम्बरमा नेकपा माओवादी केन्द्रका नेतृ पम्फा भुषाल निर्वाचित हुनुभएको छ।

महर्जनले २७ हजार ७ सय १३ मत ल्याउनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चन्द्र महर्जनले १६ हजार ९ सय ४५ मत ल्याउनुभएको थियो महर्जनद्वयको चुनावी प्रतिस्पर्धा यो पहिलोपटक होइन।

यस अघि २०७० सालको निर्वाचनमा पनि महर्जनद्वयबीच प्रतिस्पर्धा भएको थियो। २०७० सालमा चन्द्र महर्जनले कृष्णलाल महर्जनलाई पछाडि पार्नुभएको थियो भने अहिले कृष्णलाल निर्वाचित हुनुभएको छ।
त्यसै गरी नेकपा माओवादी केन्द्रको प्रवक्तासमेत रहनुभएकी भुसालले २४ हजार ३६ मत ल्याउनुभएको छ। उहाँका प्रतिस्पर्धी एवं नेपाली कांग्रेसका अमात्यले २२ हजार ३ सय ३६ मत ल्याउनुभएको छ।

क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणालाई पराजित गर्दै नेकपा एमालेका नवराज सिलवाल विजयी हुनुभएको छ।
उदयशमशेर राणा, चन्द्र महर्जन र मदनबहादुर अमात्य २०७० सालको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएको थियो। ४ वर्षपछि उहाँहरू वाम गठबन्धनका उम्मेदवारबाट पराजित हुनुपर्यो।

२०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा भन्दा अघि भएको प्रत्येक आम निर्वाचनमा ललितपुरको कायम साविकका निर्वाचन क्षेत्रमा वामपन्थी नै विजयी हुँदै आएको थियो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिल्लामा हुने हरेक सभा समारोहमा सधैजसो ललितपुरलाई माओको पेकिङका शहरका रूपमा तुलना गर्नुहुन्थ्यो। यसमा केही आधार पनि थियो। नरबहादुर कर्माचार्य (कम्युनिस्ट पार्टी संस्थापकमध्येका एक), तुलसीलाल अमात्य, देवेन्द्रलाल श्रेष्ठ पाटनकै हुनुहुन्छ।

२०४८, २०५१ र २०५६ का तीनै पटकको निर्वाचनमा तीनै क्षेत्रमा एमालेले जितेको थियो। त्यसपछि २०६४ को निर्वाचनमा तत्कालीन नेकपा माओवादीले तीनवटै निर्वाचन क्षेत्र जितेको थियो। एकपछि अर्को आम निर्वाचनमा कायम हुँदै आएको ‘लालकिल्ला’ को रेकर्ड २०७० सालको निर्वाचनमा नेपाली कांग्रेसले तोडेको थियो। नेपाली कांग्रेसले २०१५ सालपछिको आम निर्वाचनमा जितेको सो नै पहिलोपटक थियो।
२०१५ सालको संसदीय चुनाव दुई तिहाइ बहुमतसहित कांग्रेसले जित्दा पनि पाटनमा कम्युनिस्ट पार्टीका उम्मेदवार तुलसीलाल अमात्यले कांग्रेसका प्रा. स्वर्गीय आशाराम शाक्यलाई हराउनुभएको थियो।

‘यो चुनावले कांग्रेसले पाउँदै आएको मताधारलाई रतिभर पनि भत्काएको छैन। २०७० सालपछि कांग्रेस वा प्रजातान्त्रिक जमात बरु निरन्तर बढ्दै गएका छन्। वाम गठबन्धन र पार्टीभित्रको केही आन्तरिक कमजोरीले कांग्रेस पराजय व्यहोर्नुपर्यो’ –२०३६ सालदेखि नेपाली कांग्रेस संलग्न हुँदै आउनुभएका जिल्लास्तरीय एक नेताले भने। ती नेताका अनुसार कांगे्रसभित्रको गुटउपगुट र स्थानीय तहको निर्वाचनमा नेता विशेषको लहडमा टिकट बाँडेको परिणाम पनि यस्तो स्थिति देखापरेको हो।

प्रतिक्रिया दिनुहोस्