मतदानपछि शीर्ष नेताले भने, अब मुलुक समृद्धिको गतिमा अगाडि बढ्छ



नेपाल समाचारपत्र
काठमाडौं
प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन सम्पन्न भएको छ। बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राजनीतिक दलका केही शीर्ष नेताहरूले आ–आफ्नो क्षेत्रबाट मतदान गरेका छन् भने केही शीर्ष नेताहरूले आफू उठेको क्षेत्रमा मतदाता नामावली नहुँदा आफैलाई मतदान गर्नबाट वञ्चित हुन पुगेका थिए।

निर्वाचनमा मतदान गरेपछि शीर्ष नेताहरूले देश समृद्धिको गतिमा अगाडि बढ्ने प्रतिक्रिया दिएका छन्। निर्वाचनले संविधान कार्यान्वयसँगै अब देश आर्थिक समृद्धि र विकासको यात्रमा अगाडि बढ्ने दाबी गरेका छन्।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गृह जिल्ला डडेल्धुराबाट मतदान गर्नुभयो। प्रधानमन्त्री देउवाले गन्यापधुरा गाउँपालिका–१ मा रहेको असिग्राम मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको हो।

मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अब देशमा आर्थिक विकास हुने आशा व्यक्त गर्नुभयो। प्रधानमन्त्री देउवाले भन्नुभयो– ‘निर्वाचन गराउने ऐतिहासिक जिम्मेवारी पूरा गरें, यो ऐतिहासिक जिम्मेवारी पूरा गर्न पाएकामा खुसी भएको छु।’ प्रधानमन्त्री देउवाले निर्वाचनमा कांग्रेसको बहुमत आउने र कांग्रेसकै सरकार बन्ने दाबीसमेत गर्नुभयो। सरकारले अब सातवटै प्रदेशको प्रमुख र राजधानी तोक्ने जानकारी दिनुभयो।
नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास नगरपालिका–२ दमौलीस्थित सत्यवती मावि ‘ख’ मतदान केन्द्रबाट मतदान गर्नुभएको छ। तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका पौडेलले ऐतिहासिक निर्वाचनले मुलुक निर्माण र समृद्ध बनाउन सहज हुने प्रक्रिया दिनुभयो। उहाँले निर्वाचनले लोकतन्त्रलाई संस्थापन गर्दै लोकतन्त्रको लक्ष्य साकार पार्ने विश्वास व्यक्त गर्नुभयो।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनावमा आफ्नो प्रतिस्पर्धी नै नभएको दाबी गर्नुभएको छ। काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सिंहले अरू उम्मेदवारहरू कमजोर रहेकाले आफ्नो जित सुनिश्चित भएको दाबी गर्नुभयो।

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देशका लागि सबै दलहरूको सहकार्य अझै आवश्यक भएको बताउनुभयो। मतदानपछि प्रतिक्रिया दिँदै उहाँले वाम गठबन्धन र कांग्रेस मिलेर देश बनाउनुपर्ने बताउनुभएको थियो।

चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका उहाँले भन्नुभयो– ‘बलियो पार्टी र एकताबद्ध पार्टीले मात्रै देशको हित हुन्छ, अब देश समृद्धिको यात्रामा अगाडि बढ्यो।’

पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि वामपन्थीको नेतृत्वको सरकार बन्ने बताउनुभयो। उहाँले निर्वाचनले देशमा समृद्धि र विकासको युगको शुरू भएको प्रतिक्रिया दिनुभयो। उहाँले चुनाव सार्ने प्रधानमन्त्री शेरबहादुर देउवाका सबै प्रयासहरू असफल भएको प्रतिक्रिया दिनुभयो। भक्तपुर क्षेत्र नम्बर २ को बालकोटमा मतदान गरेपछि पत्रकारहरूसँग कुरा गर्दै ओलीले प्रधानमन्त्री देउवाले चुनाव सार्न हरसम्भव प्रयास गरेको आरोप लगाउनुभयो।

ओलीले चुनावका बेला सयौं ठाउँमा बम पड्काएर व्यक्तिको हत्या तथा उम्मेदवार घाइते हुँदा पनि सरकारले बम कसले हानेको हो भनेर अहिलेसम्म भन्न नसकेको बताउँदै भन्नुभयो– ‘चुनाव भाँड्नकै लागि बमकाण्डको रचना भएको आशंका छ।’
सयौं बम पड्किए तर सरकार कसले बम पड्कायो भन्न सक्दैन, दोषी को हो सरकार भन्दैन। एमाले एक्लैले सामान्य बहुमत ल्याउने अवस्था रहेको दाबी गर्दै ओलीले माओवादी र एमाले मिलेपछि दुई तिहाइ नै आउने दाबी गर्नुभयो। पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले इलाम क्षेत्र नम्बर १ को सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयबाट मतदान गर्नुभयो। उहाँले निर्वाचन ऐतिहासिक भएको प्रक्रिया दिनुभयो।
उहाँले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछि देश विकास निर्माण र आर्थिक समृद्धिको बाटोमा उन्मुख हुने बताउँदै निर्वाचनमार्फत देशमा विकासको मूल फुट्ने बताउनुभयो। विवेकशील साझा पार्टीका संयोजक एवम् काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवीन्द्र मिश्रले आफूप्रति मतदाताको सद्भाव उत्साहजनक र असाधारण देखिएको बताउनुभयो।

केही उम्मेदवारहरूले भने आफू उठेको निर्वाचन क्षेत्रमा आफैलाई मतदान गर्न पाउनुभएन। झापाबाट उम्मेदवारी दिनुभएका एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्कीले आफूले आफैलाई मतदान गर्न नपाउनुभएको हो। एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिटौलाको झापा गृहजिल्ला हो। ओलीले मतदाता नामावली भक्तपुर–२ मा सारेपछि उहाँले झापाबाट मत खसाल्न नपाउनुभएको हो। भद्रपुर नगरपालिका १०, निर्वाचन क्षेत्र नं १ मा परेपछि कांग्रेस नेता सिटौलाले आफूले आफैलाई मतदान गर्न नपाउनुभएको हो।

वाम गठबन्धनका तर्फबाट झापा–१ बाट उम्मेदवार बन्नुभएका कार्कीको मतदाता नामावली काठमाडौं–१ मा भएकाले उहाँले पनि आफूले आफैलाई मतदान गर्न नपाउनुभएको हो। माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले पनि आफूलाई मतदान गर्न पाउनुभएन। उहाँको मतदाता नामावलीमा रोल्पा जिल्लामा रहेका कारण मतदान गर्न नपाउनुभएको हो।

प्रतिक्रिया दिनुहोस्