पूर्वी रुकुम, जहाँ फोनमा पनि लोडसेडिङ हुन्छ



नरेन्द्र केसी, घोराही ।
बिजुलीमा लोडसेडिङ नेपालीका लागि नौलो कुरा होइन तर कान्छो जिल्ला पूर्वी रुकुममा फोनमा पनि लोडसेडिङ हुन्छ भन्दा सबैलाई हाँसो लाग्न सक्छ तर यो कुार साँचो हो । पूर्वी रुकुमका गाउँमा बल्लतल्ल मोबाइल फोन पुगेको छ, त्यसमा पनि लोडसेडिङ हुन्छ ।

‘विहान घाम लागेपछि मोबाइलको नेटवर्क आउने र साँझ परेपछि जाने त सामान्य नै हो तर कहिलेकाही त तीन चार दिनसम्म पनि फोन नेटवर्क आउँदैन’– भूमे गाउँपालिका काँक्रीका रजमान पुनले भन्नुभयो– ‘यहाँ त फोनमा पनि लोडसेडिङ हुन्छ ।’

पूर्वी रुकुममा राखिएका नेपाल टेलिकमका टावरहरु कम क्षमताका हुनु र टावरसम्म विद्युत नपुग्नु ठूलो समस्याको रुपमा देखिएको छ । विद्युत नपुग्दा सोलारका भरमा चलेका टेलिफोन टावर साँझ परेसँगै विद्युतविहीन हुन्छन् र काम गर्न छाड्छन् । जसले गर्दा टावरमा जडान गरिएका उपकरण बारम्बार बिग्रने समस्याले केही दिनसम्म पनि फोन नआउने गरेको नेकपा माओवादी केन्द्र पूर्वी रुकुमका इञ्चार्ज तेजबहादुर ओलीले बताउनुभयो । सेपेको लेकमा रहेको मुख्य टावरको क्षमता विस्तार गरेपछि पूर्वी रुकुमको धेरै समस्या समाधान हुने उहाँले बताउनुभयो ।

त्यसो त मंसिर १० गते सम्म प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका बेला पूर्वी रुकुमका गाउँ पुग्ने उम्मेदवारसँग प्रायः सबै मतदाताले टेलिफोनकै समस्या राखेका थिए । सबै उम्मेदवारले यो समस्या समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । ‘सबै उम्मेवारले चुनाव जितेको छ महिनाभित्र यो समस्या समाधान गर्छौं भनेका छन्’– पुथाउत्तरगंगा गाउँपालिका कोलका राकम बुढाले भन्नुभयो– ‘फोन सुविधा पु¥याएनन् भने अब आन्दोलन गर्ने चेनावनी पनि हामीले दिएका छौं ।’

७७ औं जिल्ला पूर्वी रुकुममा तीन गाउँपलिका रहेका छन् । जसमध्ये सिस्ने गाउँपालिकामा फोन सुविधा केही सहज देखिए पनि भूमे र पुथा उत्तरगंगामा सबैभन्दा धेरै समस्या छ । पुथा उत्तरगंगामा सबैभन्दा बढी समस्या रहेको स्थानीयले बताएका छन् । उनीहरुले यो समस्या तत्काल समाधान गर्न माग गरेका छन् ।

भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढाले आफूहरुले गाउँपालिकाका सबै गाउँमा टेलिफोन सेवा सहज बनाउने र गाउँपालिका तथा वडा कार्यालयमा इन्टरनेट सेवा सञ्चालन गर्ने तयारी गरिरहेको बताउनुभयो । इन्टरनेट सेवाका लागि केही बजेट विनियोजन पनि गरिएको उहाँले बताउनुभयो ।

कान्छो जिल्ला पूर्वी रुकुममा अहिलेसम्म नेपाल टेलिकमको कार्यालयसमेत स्थापना हुन सकेको छैन । एनसेललगायतका अन्य कम्पनीले पनि यो जिल्लामा सेवा प्रवाहका लागि ध्यान दिन सकेका छैनन् । २०६८ सालको जनगणनाअनुसार झण्डै ५८ हजार जनसंख्या रहेको जिल्लाको विकासमा अब राज्यको ध्यान जानुपर्ने स्थानीयको माग छ ।

 

प्रतिक्रिया दिनुहोस्