म्याग्दीको बेनी नगरपालिका साक्षर नगरका रूपमा घोषणा

0
Shares

प्रताप बानियाँ, म्याग्दी
म्याग्दीको बेनी नगरपालिका सोमबार एक समारोहबीच साक्षर नगरका रूपमा घोषणा भएको छ। नगरपालिकाको १० ओटै वडाका १५ देखि ६० वर्ष उमेर समूहका सबै जनाले अक्षर चिन्न सक्ने भएपछि साक्षर नगरपालिका घोषणा गरिएको हो।

नगर क्षेत्रमा रहेका १५ वर्षदेखि ६० वर्ष उमेर समूहका २१ हजार ८ सय ८८ मध्ये २१ हजार १ सय ९४ अर्थात् ९६ दशमलव ८२ प्रतिशत जनसङ्ख्या साक्षर भएपछि नगरपालिकालाई साक्षर घोषणा गरिएको जिल्ला शिक्षा कार्यालय म्याग्दीले जनाएको छ। जिल्ला शिक्षा कार्यालयको संयोजन र बेनी नगरपालिकाको आयोजनामा नगरपालिकालाई साक्षर घोषणा गरिएको छ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले आगामी दिनमा पनि साक्षर घोषणा अभियानलाई निरन्तरता दिनुपर्ने बताए। उनले साक्षर घोषणा अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताउँदै निरक्षर रहेको समूहलाई पनि साक्षर बनाएर साक्षरता प्रतिशत वृद्धि गराउनुपर्नेमा जोड दिएका छन्।

कार्यक्रममा प्रमुख केसीले बेनी नगरपालिका साक्षर भएको घोषणा एवम् प्रतिबद्धता पत्रसमेत वाचन गरेका थिए। सोही कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले साक्षर घोषणा कार्यक्रमले नगर क्षेत्रमा शिक्षाको लहर ल्याएको बताउँदै साक्षर अभियानलाई निरन्तरता दिनका लागि शैक्षिक कार्यक्रमहरू निरन्तररूपमा सञ्चालन गर्नुपर्ने बताएका थिए।

नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले राज्यले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर सोहीअनुसार बजेट विनियोजन गर्नुपर्ने भन्दै बाँकी रहेको निरक्षर उन्मूलनका लागि नगरपालिका, गाउँपालिका र सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने बताए। नगर उपप्रमुख सञ्जु बरुवालले साक्षर घोषणा कार्यक्रमलाई व्यवहार उतार्नुपर्नेमा जोड दिएकी छिन्।

जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले नेपालका ३८ ओटा जिल्लाहरू साक्षर जिल्ला घोषणा भइसकेको बताउँदै आगामी माघ ८ गते म्याग्दी जिल्लालाई नेपालको ३९औं साक्षर जिल्लाका रूपमा घोषणा गरिने जानकारी दिए। उनका अनुसार एक नगरपालिका, पाँचवटा गाउँपालिका र ४५ ओटा वडा रहेको म्याग्दीमा हालसम्म ३५ ओटा वडालाई साक्षर घोषणा गरिसकिएको छ। कुल ९६ दशमलव २७ प्रतिशत जनसङ्ख्या साक्षर भएको जिल्ला शिक्षा कार्यालयको तथ्याङ्क रहेको छ।