भारतसँग सीमा जोडिएका, पर्साका मतदानस्थल अतिसंवेदनशील

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज
यही मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनका लागि पर्सा जिल्लामा तोकिएका १ सय ६७ मतदान स्थलमध्ये ७३ अति संवेदनशील मानिएको छ। भारतसँग सीमा जोडिएका ७३ वटा मतदानस्थललाई अति संवेदनशील मानिएको हो। जिल्लामा २ लाख ८९ हजार ८४ जना मतदाताका लागि ३ सय ५१ वटा मतदान केन्द्र तोकिएका छन्। जिल्लामा १ लाख ६४ हजार ६ सय २९ जना पुरुष, १ लाख २४ हजार ४ सय ९ जना महिला र १६ जना तेस्रो लिंगी मतदाता छन्। जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले छिमेकी मुलुक भारतसँग सीमा जोडिएका सबैजसो र वीरगन्ज महानगरपालिकाका केही मतदान स्थललाई अति संवेदनशील मानिएको छ।

‘खुला सीमाना भएका कारण भारतसँग सीमा जोडिएका सबैजसो मतदान स्थललाई अति संवेदनशील मानेका छौं, त्यसैगरी वीरगन्जमा बढी भिडभाड हुने मतदान स्थललाई अति संवेदनशील भनेका छौं’, प्रमुख जिल्ला अधिकारी सिंहले भने– ‘त्यहीअनुसारको सुरक्षा व्यवस्था पनि मिलाएका छौं।’ त्यसै गरी, जिल्लाको ७९ वटा मतदानस्थल संवेदनशील र १५ वटा मतदानस्थल सामान्य मानिएको जिल्ला सुरक्षा समिति पर्साले जनाएको छ।

यसैबीच जिल्लास्थित ४ वटै सुरक्षा निकायका प्रमुखहरूले जिल्लाका मतदान स्थलहरूको स्थलगत अनुगमन गरिरहेका छन्। क्षेत्र नं ३ र ४ का मतदान स्थलहरूको अनुगमन गरिसकेको र अन्य क्षेत्रको पनि अनुगमन गर्ने तयारी भइरहेको सुरक्षा अधिकारीहरूले बताएका छन्।
विशेष गरी सदरमुकाम वीरगन्जभन्दा टाढा पर्ने संवेदनशील क्षेत्रका मतदान स्थलहरूको अनुगमन भइरहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय पर्साका सशस्त्र प्रहरी उपरीक्षक शान्तिकुमार कार्कीले बताए। ‘निर्वाचन आयोगका दुई जना सहसचिव जिल्लामा छन्, हामी सुरक्षा निकाय पनि सतर्क छौं।

सबै ठाउँमा पुग्न नसकेपनि संयुक्त र छुट्टाछुट्टै अनुगमन टोलीले ठाउँ ठाउँमा गएर अनुगमन गरिरहेका छौं।’ –सशस्त्र प्रहरी उपरीक्षक कार्कीले भने। अलिकति बढी संवेदनशील मानिएका, दूरीका हिसाबले टाढा रहेका मतदानस्थललाई प्राथमिकतामा राखेर अनुगमन गरिरहेको उनको भनाइ छ।