इलाममा अपाङ्गतामैत्री मतदान केन्द्र बनेन, मतदान गर्न अपाङ्गता भएका व्यक्तिलाई अत्यन्त समस्या

0
Shares

गणेश घिमिरे, इलाम
आउँदो बिहीबार अर्थात् मंसिर २१ गते हुन लागेको दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मतदान गर्नका लागि इलाममा अपाङ्गता भएका व्यक्तिहरूलाई अत्यन्त समस्या पर्ने देखिएको छ। जिल्लामा निर्धारण गरिएका १ सय ४४ वटा मतदानस्थल र २ सय ६६ वटा मतदान केन्द्रमा जिल्ला निर्वाचन कार्यालयले एउटा पनि अपाङ्गतामैत्री मतदान केन्द्र निर्माण नगर्दा अपाङ्गता भएका व्यक्तिलाई मतदान गर्न अत्यन्त समस्या देखिएको छ।

कतिपय अपाङ्गता भएका व्यक्ति मतदान गर्नैबाट पनि वञ्चित हुने निश्चित भएको छ। स्थानीय तहको निर्वाचनमा जिल्ला निर्वाचन कार्यालयले तीनवटा मतदान केन्द्र अपाङ्गतामैत्री बनाए पनि यसपटकको निर्वाचनमा भने एउटा पनि अपाङ्गतामैत्री मतदान केन्द्र बनाएको छैन। सूर्योदय नगरपालिकाको वीरेन्द्र मावि, देउमाई नगरपालिकाको भानुभक्त मावि, इलाम नगरपालिकाको आदर्श आधारभूत विद्यालयमा विद्यालय आफैले अपाङ्गतामैत्री मतदान केन्द्र बनाएको छ। तर ती मतदान केन्द्र पूर्णरूपमा अपाङ्गतामैत्री नभएको निर्वाचन कार्यालयले जनाएको छ। रोङ गाउँपालिकाको कोल्बुङस्थित साविकको गाविस भवन मतदान केन्द्रमा पनि सामान्य किसिमका रूपमा अपाङ्गतामैत्री मतदान केन्द्र निर्माण गरिएको छ।

अहिले निर्धारण गरिएका मतदान केन्द्र साविकका गाविस भवन, विद्यालयलगायत स्थानमा भएको र ती भवनहरू नै अपाङ्गतामैत्री भवन नभएको, भौगोलिक हिसाबले गर्दा पनि इलाममा अपाङ्गतामैत्री मतदान केन्द्र निर्माण गर्न नसकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रेमकुमार काफ्लेले बताए। मतदान गर्दा महिला तथा अपाङ्गतामैत्री मतदान केन्द्र नहुँदा समस्या हुने माइजोगमाई गाउँपालिका–१ की शारदा रिजालले बताइन्। सडकभन्दा टाढा रहेकाले ह्वीलचेयरमार्फत जान नसकिने हुँदा अपाङ्गतामैत्री मतदान केन्द्रमा अपाङ्गता भएका व्यक्ति पुग्न नसक्ने जिल्ला निर्वाचन अधिकारी काफ्लेको भनाइ छ। अपाङ्गता भएका व्यक्तिहरू सहजै पुग्न सक्ने ठाउँमा मतदान केन्द्र नहुँदा अपाङ्गता भएका व्यक्तिले मतदान गर्न नपाउने भएका हुन्। यस्तो समस्या इलाममा मात्रै नभई अरू जिल्लामा पनि रहेको छ।