कांग्रेसले हार स्वीकार गरिसक्योः नेपाल

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
माले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दोस्रो चरणको निर्वाचनअघि नै कांग्रेसले पराजय स्वीकार गरिसकेको बताउनुभएको छ। प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको मिडिया डेस्कद्वारा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा कांग्रेसले हार स्वीकार गरेकै कारण जनताबीच एजेन्डाभन्दा वाम गठबन्धनविरुद्ध कू–प्रचार बढी गरिरहेको दाबी गर्नुभयो।

‘जनता वाम गठबन्धनलाई बहुमत दिएर जिताउन आतुर देखिएपछि अत्तालिएर कांग्रेस भ्रमपूर्ण कू–प्रचारमा लागेको छ, जनताका बीचमा आफ्ना एजेन्डा नभएपछि पहिले–पहिलेजस्तै कम्युनिस्ट सरकार आए बूढाबूढी मार्न खाल्डो खन्छ भनिरहेका छन्’, नेपालले भन्नुभयो– ‘त्यसैले कांग्रेसले दोस्रो चरणको चुनावअगावै पराजय स्वीकार गरिसकेको छ।’

तर ०४६ पछि ३ पटक बहुमत दिँदा पनि देश सम्हाल्न नसक्ने कांग्रेसलाई किन मत दिने भन्ने प्रश्न गरिरहेको भन्दै नेपालले जनता यस पटक वाम गठबन्धनलाई बहुमत दिएर जिताउन आतुर बनिरहेको दाबी पनि गर्नुभयो। नेपालले पहिलो चरणको निर्वाचनले वाम गठबन्धनले प्रष्ट बहुमत ल्याउने संकेत देखिएको पनि बताउनुभयो। ‘बिहानीले दिउँसोको संकेत गरेजस्तै पहिलो चरणको निर्वाचनले वामपन्थीको पक्षमा जनलहर देखिएको छ, अब देशमा बहुमतसहितको सरकार बन्छ’ –नेपालले भन्नुभयो।

उहाँले भ्रष्ट्राचार र ढिलासुस्तीको अन्त्य, कानुनी शासनको प्रत्याभूति, विकासको अभियान तीव्र बनाएर रोजगारीका अवसर सिर्जना गर्न तथा सुखी नेपाली र समृद्ध नेपालको नारा साकार पार्न जनताले वाम गठबन्धनलाई जिताएर बहुमतको सरकार बनाउनुपर्ने बताउनुभयो।
तालमेलमा कांग्रेसको खुवी देखियो
नेपालले एमाले र माओवादी केन्द्रको चुनावी तालमेलले चुनावलगत्तै एकीकरणको रूप लिने पनि प्रष्ट पार्नुभयो। ‘हामीले एकीकरणसमेत गर्नेगरी चुनावी तालमेल गर्यौं, तर कांग्रेसले गरेको तालमेलको प्रयास देशैभर असफल भयो’, नेपालले भन्नुभयो– ‘यसबाट कांग्रेस पार्टीको खुबी र क्षमता प्रष्ट भएको छ।’