कला र संस्कृति विकासमा लाग्ने उम्मेदवारको प्रतिबद्धता



 

सञ्चिता घिमिरे, ललितपुर ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति झण्डै एक साता मात्रै बाँकी हुँदा उम्मेदवारले पाटनको मौलिक कला र संस्कृति संरक्षण र विकासमा लाग्ने योजना मतदातालाई सुनाइरहेका छन् ।

निर्वाचन प्रचारप्रसारका लागि मतदाताका घरआँगनमा पुगिरहेका उम्मेदवारमध्ये अधिकांशले पाटनको कला र संस्कृतिको विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कसैले मौलिक संस्कृतिको संरक्षण, कसैले सम्पदाको भूकम्पपछिको पुनःनिर्माण तथा कसैले कला र संस्कृतिको राजधानीका रुपमा विकास गर्ने योजना स्थानीयवासीलाई सुनाएर मत मागिरहेका हुन् ।

यस क्षेत्रमा कला र संस्कृति स्थानीयवासीको जनजीवनसँग जोडिने मात्रै नभएर धेरैको रोजीरोटीको माध्यमसमेत रहेको छ । काष्ठकला, मूर्तिकलालगायत हस्तकलामा पुस्तौँदेखि लाग्ने धेरै छन् । यस क्षेत्रमा सम्पदा र कला हेर्न आउने पर्यटकका कारण धेरै खालका व्यवसाय सञ्चालनमा छन् । कला र संस्कृतिको विकासमा यसअघिदेखि लागेका र आगामी दिनका लागि योजना भएका उम्मेदवारलाई रोज्ने यस क्षेत्रका धेरै मतदाता सुनाउँछन् । त्यसैले पनि प्रमुख दलका उम्मेदवारले मौखिक र लिखित रुपमा घोषणापत्रमा कला र संस्कृतिलाई प्राथमिकतामा राखेका हुन् ।

नेपाली काँग्रेसका तर्फबाट क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका चन्द्र महर्जन सम्पदाको पुनःनिर्माण गरेर पर्यटनको विकास गर्ने योजना सुनाउनुहुन्छ । भूकम्पका कारण यस क्षेत्रमा धेरै मठमन्दिर, बहाललगायत स्मारक क्षतिग्रस्त भएका छन् । उहाँ भन्नुहुन्छ, “यस क्षेत्रको प्रतिनिधिका रुपमा मैले हिजो पनि पुनः निर्माण प्राधिकरणलाई घच्घचाएको थिएँ र आगामी दिनमा पनि गर्नेछु ।” पर्यटक भत्केको सम्पदा हेर्न नआउने हुँदा विश्वसम्पदा क्षेत्रमा सूचीकृत पाटन दरबार क्षेत्रको पुनःनिर्माणमा तीव्र गति दिन आवश्यक छ ।

नेकपा (एमाले)बाट क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णलाल महर्जन सिङ्गो पाटन नै खुल्ला सङ्ग्रहालय भएको बताउनुहुन्छ । यसको सांस्कृतिक विविधतालाई संरक्षण गर्न खाँचो औँल्याउँदै उहाँले पाटनमा विभिन्न किसिमका हस्तकलाको विकास गर्न सके आर्थिक विकास सम्भव रहेकाले वामपन्थीको पाँचवर्षीय स्थायी सरकार आउँदा सम्पदाको संरक्षण र विकासको योजना कार्यन्वयन हुने बताउनुभयो । उहाँ भन्नुहुन्छ, “अहिले एउटा सरकारले अलिकता काम गर्न थाल्नासाथ सरकार फेरिँदा धेरै काम अलपत्रमा छन् ।”

विवेकशील साझा पार्टीबाट क्षेत्र नं २ मा उम्मेदवार बनेका अमिरराज महर्जन भत्केका स्मारकको पुनःनिर्माणमा गति दिन पहल गर्ने योजना सुनाउनुहुन्छ । पुर्खाले बनाएकै स्वरुपमा सम्पदालाई फर्काउनु उहाँको चुनावी कार्यसूचीमा पर्छ । उहाँ भन्नुहुन्छ, “स्थानीय निकायसँगको सहकार्यमा पुनःनिर्माणलाई अघि बढाउन खाँचो छ ।”
काँग्रेसबाट क्षेत्र नं ३ मा प्रतिनिधिसभा उम्मेदवार मदनबहादुर अमात्य आफूसँग यस क्षेत्रका स्मारकलाई विसं १९९० भन्दा पहिलेको स्वरुपमा फर्काउने योजना रहेको बताउनुहुन्छ । “यस क्षेत्रमा भएका सम्पदा धेरै भूकम्पका कारण क्षतिग्रस्त भएका थिए”, पूर्वसांसद अमात्य भन्नुहुन्छ, “तिनलाई पुनःनिर्माण गर्दा पहिलेको स्वरुपमा परिवर्तन आउन दिनुहुँदैन ।” पर्यटकको बसाइ लम्ब्याउने, जात्रा व्यवस्थित गर्ने र लोपोन्मुख बाजाको संरक्षणमा लाग्ने उहाँको योजना छ ।

माओवादी केन्द्रका प्रवक्तासमेत रहनुभएका क्षेत्र नं ३ का उम्मेदवार पम्फा भुसाल ललितपुरलाई संस्कृतिको राजधानी बनाउने योजना सुनाउनुहुन्छ । यस क्षेत्रमा रहेका कला, संस्कृति र सम्पदालाई पर्यटनमार्फतबाट आर्थिक समृद्धिको माध्यम बनाउने उहाँ बताउनुहुन्छ । मंगलबजारबाट हरिसिद्धि, ठैव हुँदै सुनाकोठी, ठेचो र त्यहाँबाट खोकना बुङमती हुँदै पाटन फर्कने पर्यटकीय चक्रपथ बनाउने योजना उहाँले मतदातालाई सुनाइरहनुभएको छ । “नगरका भित्री भाग मात्रै नभएर पर्यटकको आगमनले ग्रामीण क्षेत्रले समेत फाइदा लिन सक्नेछन्”,उहाँ भन्नुहुन्छ, “भित्री भागमा होटल व्यवसाय त पुराना नेवारी बस्तीमा होम स्टेसमेत सञ्चालन गर्नुपर्छ ।”
कलाको राजधानी मानिने पाटनका भित्री भाग ललितपुरका क्षेत्र नं २ र ३ मा पर्छन् । पाटन दरबार, कृष्णमन्दिर, चार नारायण मन्दिर यहाँका सम्पदा हुन् ।

प्रतिक्रिया दिनुहोस्