एमाले म्याच फिक्सिङ जान्दैनः ओली

0
Shares

नेपाल समाचारपत्र
भद्रपुर
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपासँग भएको वाम गठबन्धन पराजय हुनुभनेको एमालेलाई लाज हुने भएकाले रातदिन लागेर वाम गठबन्धनलाई जिताउन आग्रह गरेका छन्। झापाको क्षेत्र नम्बर–३ स्थित भद्रपुरमा बिहीबार आयोजित संयुक्त चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले एमालेकै नेतृत्वमा गठबन्धन भएकाले गाई चुनाव चिन्हमा मत दिनु भनेको एमालेलाई दिनुजस्तै भएको उल्लेख गर्नुभयो।

कांग्रेस सरकारमा हुँदा भएको नाकाबन्दीको विषयमा चुइँक्क नबोल्ने पार्टीले अहिले गाँउमा गएर धाक लगाउनु विचरा⁄ कांग्रेस भएकोसमेत उनले औंल्याए। कांग्रेस इमानमा अडिदैन भन्ने दुनियाँलाई जानकारी हुँदाहँुदै अहिले आएर राप्रपासंग गठबन्धन भएको झापा– ३ मा एमालेले ‘म्याच फिक्सिङ’ को हल्ला लिएर आएको बताए। ‘एमालेले जसलाई समर्थन गर्छ खुल्ला रूपमा गर्छ, जालसाँची गर्न जान्दैन। जे बोल्छ त्यो गरेरै छाड्छ। भित्र एउटा बाहिर अर्को कहिल्यै गर्न जान्दैन’ –उनले थपे।

‘म्याच फिक्सिङको नाममा गठबन्धनलाई लत्याएर एमालेले कसैसँग फोहोरी खेल खेल्दैन’ ओलीले सभामा भने– ‘फोहोरी खेल खेल्नु थियो भने एमालेले पहिले नै खेल्थ्यो।’ उनले भने– ‘हामी वचनको पक्का छौं, दायाँ–बायाँ गर्न जान्दैनौं।’ झापा ३ मा राप्रपालाई कुनै हालतमा धोका दिदैनौं, उनले प्रस्टाए।

झापा क्षेत्र नम्बर ३ का उम्मेद्वार रहेका कांग्रेसलाई आफूहरूले लतारेर गणतन्त्रमा ल्याएको बताए। उनले भने– ‘कांग्रेसलाई गणतन्त्रमा कसरी ल्याइयो भन्ने कुरा कृष्णप्रसाद सिटौलालाई थाहा छ।’ कार्यक्रममा वाम गठबन्धका प्रतिनिधिसभाका उम्मेदवार राजेन्द्र लिङ्देनले ३ नम्बर क्षेत्रमा २५ वर्षसम्म नभएको विकासको काम ५ वर्षमा गरेर देखाइदिने ठोकुवा गरेका छन्।

भष्ट्राचार गर्नुभनेको आमाको रगत खानुजस्तै भएकाले मतदाताको शिर उचो पार्ने काम गर्ने प्रतिवद्धता जनाएका छन्। वाम गठबन्धन क्षेत्र नम्बर ३ का प्रचारप्रसार संयोजक पुष्पराज पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभा १ र २ का उम्मेदवार वसन्त बानियाँ, पूर्णसिह राजवंशी, पूर्वसांसद मोहन टुडुले बोलेका थिए। ओलीले झापाको विर्तामोड र दुधेमा समेत चुनावी सभालाई सम्बोधन गरेका थिए।