निर्वाचनको माहोलः जनता पुजिने पर्व र लोकतान्त्रिक अस्त्र

0
Shares

अनिल नेपाली

अहो, संघीय संरचनाको प्रारम्भिक यात्रामा नेपाल

, संघीय चुनाव, गाउँघरमै सिंहदरबार ⁄ सबै दलद्वारा घोषणापत्रमार्फत समृद्धि र रोजगारी सुनिश्चितताको प्रतिबद्धता ⁄ एक प्रकारले सुदूर देशका नेपालीहरुलाई आजै नेपाल फर्की आऊ भन्ने भावावेग हुँदो हो तर ती सबै सुनेका भरमा सृजित सुनौला कल्पनाका फोकाहरु न हुन्, जसलाई यथार्थताले विल्कुल प्रतिनिधित्व गरेको छैन।

ती अभागी नेपालीहरु जसको तातो रगतमा नेपालको भूगोल, कला, संस्कृति र हावापानीको सूक्ष्म सम्बन्ध छ, त्यसले सिञ्चित गरेको स्वाभिमानी नागरिकको हैसियतलाई मतदानमार्फत गौरवपूर्ण प्रमाणीकरण गर्नबाट तिनीहरु वञ्चित भएका छन्। करिब दुई दशकपछि भएको स्थानीय तहको निर्वाचन र संघीय संरचनाको पहिलो आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा नागरिक हुनुको अधिकार सदुपयोग गर्न नपाउने विश्वभर छरिएर रहेका नेपालीले मतदानको सुनौलो अवसर पाँच वर्षको निम्ति गुमाएका छन्।

मानिस भएर जन्मिएपछि कुनै पनि देशको स्वाभिमानी नागरिक हुनुको सौभाग्य संसारमा सबैभन्दा सर्वोत्तम प्राप्ति हो। त्यस्ता प्राप्तिहरु जुन राष्ट्रियतासँग जोडिएका हुन्छन्, ती सबै अस्थायी र अस्थिर हुन्छन्। तिनको मूल्य र स्थायित्वको कुनै मापन नहुने हुँदा नागरिक हुनुको गौरवता परिभाषाभन्दा धेरै माथि हुन्छ। नागरिक मौलिक अधिकारभित्र सुरक्षित भए पनि अब संसारमा लुटिन बाँकी के नै छ र ? हावा, पानी, आकाशको भूगोल, पृथ्वीको भित्री सतह, माटो, धर्म, परोपकार, सबै–सबै लुटिइरहेका छन् भने, मानिसका मौलिक हक संसारका शक्तिशाली मानिसले मानिसलाई प्रदान गरेका अस्थायी अस्त्र हुन्। त्यसैले यी अस्थायी र अस्थिर छन्। तब नागरिकका मौलिक हक हिजोभन्दा आज धेरै र आजभन्दा भोलि धेरै लुटिँदै छन्। त्यसैले प्रिय पाठकलाई मौलिक हक लुटेर नागरिकबाट अनागरिक रुपान्तरणका दुःखान्त कारक र राज्यको असमान न्याय विकेन्द्रीकरणबाट कुनै निश्चित नागरिकको अस्तित्व मेटाउन उद्यत् विश्वको पछिल्लो क्षुद्र उदाहरणसहित थोरै चर्चा गर्ने अनुमति चाहन्छु।

कुनै पनि नागरिकको पछिल्लो वंश किन उसको देशको नागरिक हुन अयोग्य हुन्छ ? कुनै पनि व्यक्तिले उसको देशको स्वाभिमानमा आँच आउने कार्य गर्छ र मुलुकको अस्तित्वमा खेलबाड गरेको प्रमाणस्वरुप उसलाई देश निकाला गरिनु राज्यको कुनै चमत्कारी कार्य होइन। तर राज्यले आफ्नो स्वार्थ परिपूर्तिको लागि कुनै सिंगो जाति, समुदाय वा वंशलाई अनागरिक हुन बाध्य गर्छ भने राज्यले अस्थिर, अहित र अहंकारीले मडारिरहेको विश्व राजनीति स्वीकार्दै छ भन्ने प्रस्ट हुन्छ। राज्यको यस्तो सूक्ष्म अभ्यासबाट नागरिक सदैव सजग हुनुपर्दछ। जब कुनै पनि देशको मौलिक राजनीतिक प्रणाली र न्यायिक व्यवस्थामा विश्वले अस्वीकार गरेको तर अभ्यासमा अग्रसरता देखाइरहेको अस्वस्थ अहंकारवादको नजर गाँजिन्छ त्यसको पहिलो प्रतापिडकर्ता त्यही देशका नागरिक हुन्छन्। जब राज्य आफ्नो दुःखान्त हैसियतको बेला पनि महाप्रताप बन्ने मनमौजी गर्छ तब उसले आफ्नो देशका गौरवशाली नागरिकमाथि घृणित राजनीति गरेको हुन्छ।

मानिसमा नागरिकको बिल्ला कति महत्वपूर्णबीच अस्थायी हुँदो रहेछ भन्ने पछिल्लो प्रमाण रोहिंगाहरु हुन्। कुनै बेला म्यानम्यारले आफ्ना रोहिंगा जातिका नागरिकलाई बहिष्कारको औपचारिक घोषणा गरेर विश्वमानवताको खिल्ली उडायो। रोहिंगाहरु शरण खोज्दै विश्वका अनेक देशहरुमा भौंतारिँदा हजारौंले बाटोमै ज्यान गुमाए। तब उनीहरुको निम्ति आँसु बगाउने कुनै मुलुक भेटिएन। बरु वर्षैपिच्छे चुर्लुम्म डुब्ने होनहार एम्बुसमय सामुन्द्रिक टापुमा बसोबासको निम्ति शरण दिने र रोहिंगाहरुको सामूहिक हत्याको प्रपञ्च बुनेर विश्व मानवीयतामाथि सबैभन्दा ठूलो त्रूmरता प्रदर्शन गरियो। रोहिंगाहरुमाथिको घृणित हर्कतले विश्वमा म्यानमारको लाचार र कायर चेहराले कुनै स्थान नपाएपछि आफ्नो गुमेको साख फर्काउन म्यानमारले पुनः रोहिंगाहरुलाई शरण दिने भएको छ। यो विश्व मानव समुदायको निम्ति खुशीको कुरा हो। तर, म्यानमारको यो निर्णय रोहिंगाहरुको स्वाभिमानको चोटमा मलहम लगाउने अभ्यासको रुपमा भए पनि घाउ त घाउ नै हो, दुखिरहन्छ र बल्झिरहन्छ।

पश्चिमी देशहरुमा अहिले पनि आतंकवादको वर्चश्व छ। गरिबता र आतंकवादको त्रासदीले नागरिकहरु पल–पल मरिरहेका छन्। आतंकवादसँग राज्य आफैं हारिरहेको बेला पश्चिमी मुलुकका जनताले स्वतन्त्रता, स्वाभिमान र राष्ट्रियताप्रतिको गहिरो अनुभूति गर्न पाएका छैनन्। विश्वबाट परिवर्तन र रुपान्तरणको अनुकरणीय सूत्रात्मक अभ्यास नगरी मुलुकलाई सधैँ यथास्थितिवादको सिकार बनाइराख्ने शासनपद्धति कायम भएका देशहरुमा जनतालाई कहिल्यै सर्वोच्च मानिदैन।

जनता नागरिकभन्दा तल्लो स्तर सम्बोधनको राजनीतिक भाष्य हो। लोकतान्त्रिक पद्धतिको अवलम्बन गरेका मुलुकहरुमा जनतालाई उत्तिकै सर्वोच्चता मानिन्छ र पुजिन्छ। किनकि, निर्वाचनपछि चुनिने र सत्तामा पुग्ने महोदयको निम्ति मतदान सुनको खुड्किलो हो। लोकतान्त्रिक पद्धतिको सर्त जनमतको छातीमा टेकेर उठेको जनादेशको पूर्ण र अन्तिम स्वीकार्यता हो।

जब मुलुक निर्वाचनमय हुन्छ तब जनताले नागरिक हुनुको गर्व र कर्तव्य महसुस गर्छन्। अरु बेला अशान्ति, असमान न्याय वितरण, भ्रष्टाचार, दासत्व, महङ्गी, प्रतिकूल सुशासन, असुरक्षाजस्ता समस्याहरुबाट पीडित हुँदा नागरिकले राज्यबाट आफूहरु किनारा लागेको र राज्यलाई वैरीको संज्ञा दिन बाध्य हुन्छन्। त्यसैले नेता र जनताबीचको साक्षात्कारलाई उपलब्धिमूलक बनाउन र राज्यप्रति जनताको हिनताबोधलाई अन्त्य गराउन पनि निर्वाचन हुन जरुरी हुन्छ, जसलाई लोकतन्त्रको आधारभूत अस्त्र मानिन्छ। लोकतन्त्रलाई दिगोपन बनाउन निर्वाचन आवश्यक छ र निर्वाचनसँग जोडिएको मतदाता र उम्मेदवारबीचको सौहार्दपूर्ण सम्बन्धको ताजागीपनलाई निरन्तरता दिन पनि निर्वाचन कति महत्वपूर्ण छ भन्ने उदाहरण खोज्न विश्वको सेरोफेरो चहार्नुपर्दैन। नेपालमै भइरहेको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई नियाल्दा नेता र जनताबीचको सुमधुर सम्बन्ध साक्षात्कारबाट सन्देशको चित्रकारी फैलावट नै काफी छ।

संविधानसभाको निर्वाचनपछि गाउँ नछिरेका नेता अहिले हात जोडेर भोट माग्दै जनताको घरदैलोमा पुगेका छन्। नेताहरु खेतबारीमा काम गर्दै गरेका किसानको हातबाट हलो, कोदालो, हँसिया खोसेर आफूले गरिरहेको र भरियाको भारी आफूले बोकेर भरियाको पछि–पछि यात्रा गरिरहेको तस्वीर सामाजिक सञ्जालमा हालेर चर्चा बटुल्ने काम गरिरहेका छन्। तर, जनताको मन जित्न नेताहरुले गाउँघरमा गएर खेतबारीमा, किसानको झुप्रोमा र भरियाको पछि–पछि देखिए पनि त्यसको कुनै चमत्कारी अर्थ र जनतामा कुनै उत्साह आएको छैन। नेताप्रतिको विश्वास र आशामा जनताको मन निरन्तर कुँडिएको छ।

निर्वाचनविना लोकतन्त्रको अस्तित्व हुँदैन। त्यसैले लोकतन्त्रको अस्तित्वको निरन्तरता र सञ्चयको निम्ति पनि निर्वाचन आवश्यक छ। निर्वाचनको बेला मतका निम्ति मात्र नेताले जनता सम्झने तर अरु बेला जनतालाई सहयोग, सद्भाव र वैचारिकरुपमा किनारा लगाउने प्रवृत्तिको हाबी नेतामा रोग नै बनेको छ। के जनता मतदानको लागि मात्र सर्वोच्च मानिन्छ ? मत प्राप्तिको लागि मात्र जनता लायक छन् ? के निर्वाचनभन्दा अघि–पछि नेता गाउँघरमा देखिन हुँदैन। खेतबारीमा देखिनुहुँदैन ? विकासका निम्ति जनतासँग बहसमा साक्षात्कार गर्नुहुँदैन। जनताका सुख–दुःखमा सहयात्रा गर्नुहुँदैन ? तर हामी जनता एक्काइसौं शताब्दीमा पनि भेडा नै छौं। हामीले वैरी र अयोग्य नेतालाई सधैँको निम्ति किनारा लगाउने अवसर कैयौंपटक पायौं तर नेताका चिप्ला कुरा र क्षणिक आवश्यकता पूरा गर्ने भौतिक प्राप्तिको लोभमा उही वैरी र अयोग्य नेतालाई जितायौँ अनि सत्तामा पुर्यायौं। फेरि उही नेताको कुरा काटेर हामी समय बर्बाद गरिरहन्छौँ आगामी पाँच वर्षका निम्ति।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा हामीले नेता हुन लायक नहुने उम्मेदवारलाई जिताउन हुँदैन। असल नेता छान्नु असल जनताको सबैभन्दा ठूलो कर्तव्य हो। विश्व धेरै अघि बढिसक्यो। तर, नेपालको शासन प्रणाली बारम्बार अयोग्य नेतृत्वको कब्जामा परेर निकास पाउन नसकेको हो। त्यसैले निर्वाचन जनता पुजिने पर्व हो, कुनै भौतिक प्राप्तिको निम्ति आयोजित भव्य मेला होइन। जनता र देशको भविष्य निर्धारण गर्ने अग्निपरीक्षा हो। निर्वाचनमा उम्मेदवारले चुनाव जित्न अनगिन्ती फोहोरी हर्कत गरेका हुन्छन्। चुनावका बेला नेताले जनता र राष्ट्रको निम्ति परिपक्व संयमता अपनाएका हुँदैनन्। स्वार्थले ओतप्रोत भएका हुन्छन् र उनीहरुको निर्णयसँगै क्रियाकलाप पनि उत्तिकै उत्तेजनात्मक, अविश्वासिला, शंकास्पद र डरलाग्दा हुन्छन्। जस्तै– ठूलो धनराशीको खर्च, बाहुबलको प्रयोग, हिंसामा अग्रसरता मुख्य उदाहरण हुन्। के हामी असल, क्षमतावान्, निष्ठावान् र प्रगतिशीलताको विचारधारामा आफूलाई सदा प्रतिस्पर्धी उम्मेदवारलाई जिताउन किन पछि हट्छौं ? खराब र अयोग्य नेतालाई क्षणिक लोभमा एक भोट दिएर के पाउँछौं ? हामीले केही पाऊँला तर हाम्रा सन्ततीले के पाउँछन् ? देशले के पाउँछ ? के हामीले ऊबाट समृद्ध नेपाल विपनामा पाउन सक्छौं ? देश बनाउने ऐतिहासिक अवसरको बेलामा मतदातालाई सजग बनाउनु स्तम्भकारको कर्तव्य हो तर, जबर्जस्ती अरुको इच्छालाई मोड्न प्रयत्न गर्नु अधिकार होइन। तर पनि असल र क्षमतावान् उम्मेदवारलाई जिताएर अबको पाँच वर्षका निम्ति समृद्ध नेपाल निर्माणमा खबरदारी गर्नु हामी असल नागरिकको महत्वपूर्ण कर्तव्य हो। किनकि, निर्वाचन भनेको जनता पुजिने पर्व हो, खराब नेता पुजिने पर्व होइन। खराब नेता किनारा लगाउने ठीक अवसर हो, क्षणिकरुपमा भौतिक प्राप्तिको निम्ति अबको पाँच वर्षको सुनौलो समय नेताको हातमा आँखा चिम्लेर सुम्पनुपर्ने सम्झौताको मैदान होइन यो निर्वाचन।