फेरि महादान

0
Shares

आगामी २१ मंसिरमा हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सम्बन्धित क्षेत्रमा दर्शकले आफ्नै भाषामा नाटक अवलोक गर्न पाएका छन्।

मतदाता शिक्षा बाँड्न २२ नाट्य टोली नाटक महादान लिएर शनिबारबाट विभिन्न ४५ जिल्लामा खटिएका छन्। निर्वाचन शिक्षाका लागि निर्वाचन आयोगद्वारा आयोजित सडक नाटक महादान विभिन्न जिल्लामा स्थानीय भाषाअनुसार मञ्चन भइरहेको छ। सांस्कृतिक संस्थानको संयोजन र आरोहण गुरुकुलको सहकार्यमा प्रस्तुत हुँदै आएको यो नाटक आइतबार विभिन्न स्थानमा मञ्चन भएका छन्। यसै क्रममा प्रदेश–१ को धनकुटास्थित भेडेटार गाउँपालिकाको भेडेटार चोक, धनकुटा नगरपालिकाको मूलघाट, बसपार्क र चुलिवनमा नाटक महादान मञ्चन गरियो। झोरहाट नाट्य समूहले मञ्चन गरेको नाटक हेर्ने ५ सयभन्दा बढी दर्शक रहेको समूहका प्रमुख क्षत्र काफ्लेले जानकारी गराए।

प्रदेश–२ को सप्तरीस्थित हनुमान नगरकंकालिनी नगरपालिका भारदह, कञ्चनपुर नगरपालिकाको कञ्चनपुर बजार, सप्तकोसी नगरपलिकाको फत्तेपुर, कृष्णसवरण गाउँपालिकाको महुली र रूपनी गाउँपालिकाको रूपनी बजारमा विराटमैथिल नाट्य कला परिषद्ले आइतबार सो नाटक प्रदर्शन गरेको छ। यी स्थानमा चलनचल्तीको भाषामा नाटक देखाएको नाट्य परिषद्का निर्देशक रामभजन कामतले बताए।

प्रदेश–२ कै सल्लाहीस्थित रामनगर गाउँपालिकाको खैरवा गाउँ, बलरा नगरपालिकाको डुमरुवा, बासबारिया गाउँपालिकाको भवानीपुर र बरहथुवा नगरपालिकामा आरोहण गुरुकुलले नाटक मञ्चन गरेको निर्देशक दीपेश भण्डारीले बताए।

प्रदेश–२ मै पर्ने वीरगन्ज महानगरपालिकाको बालउ, बिन्दवासिनी गाउँपालिकाको बहुअर्वा र पटाहामैनपुर गाउँपालिकाको पटाहा चोकमा नाटक मञ्चन गरिएको गढीमाई नाट्य समूहका निर्देशक रामलोचनले जानकारी गराए। शृंखला नाट्य समूहले पनि आइतबार प्रदेश–३ को मकवानपुरस्थित राक्चिरान गाउँपालिकाको चैनपुर, मनहरी गााउँपालिकाको मनहरी, हेटौंडा उप–महानरपालिकाको बुद्धचोकमा सो नाटक देखाएको छ। टोलीले यी स्थानमा स्थानीय प्रचलित भाषामा नाटक देखाएको निर्देशक आशाकाजी श्रेष्ठले बताए।

प्रदेश–६ को बाँके र सल्यानमा पनि आइतबार महादान प्रदर्शन गरिएको छ। सल्यान दार्मा गाउँपालिकाको थारुला बजार, कुमाखमालिका गाउँपालिकाको वडागाउँ, बागचौर नगरपालिकाको थार्मारे बजारमा नाटक प्रदर्शन भएको शारदा कुमार नाट्य समूहका निर्देशक नरेन्द्र कुमारले जानकारी दिए। यस्तै बाँकेको दरुवा गाउँपालिकाको कम्दी, नरैया गाउँपालिकाको मोतीपुर र राप्तीसुमारी गाउँपालिकामा नाटक प्रदर्शन गरियो। यो स्थानमा नाटक प्रदर्शन गर्ने दियालो परिवार नाट्य समूहका निर्देशक सन्तकुमार विश्वकर्माले भने– ‘यी स्थानमा स्थानीय भाषामा नाटक देखाउँदा दर्शकले निकै रोमाञ्चित हुँदै शुरुदेखि अत्यसम्म साथ दिएका थिए।’