राजेशपायललाई अर्को सम्मान

0
Shares

केही समयअघिमात्र अमेरिकी राज्यमा अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित गायक राजेशपायल राईलाई राजधानीमा अर्को सम्मान गरिएको छ। अमेरिकाको रोचेस्टर सिटीमा इन्टरनेसनल पपस्टारको उपाधि पाएका गायकलाई मिलाप मासिकले आइतबार नेपाली ढाकाटोपी, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेको हो।

कार्यक्रममा मिलापका प्रकाशक तथा सम्पादक कृष्ण भुसाल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, चलचित्र विकास बोर्डका सदस्य उत्तम केसी, संगीतकार राजु सिंहलगायतले सम्मान गरेका हुन्। ‘नेपाली गायकले अन्तर्राष्ट्रिय सम्मान पाउनु नै नेपाली संगीत क्षेत्रको सम्मान हो। यो राजेशजीको साधना र योगदानको कदर हो र राज्यले पनि सम्मान गर्नुपर्छ’ –संगीतकार राजु सिंहले शुभकामना दिँदै भने। कलाकार संघका अध्यक्ष बोगटीले नेपाली फिल्मलाई सफल बनाउन संगीतको पनि उत्तिकै भूमिका रहने र राजेशपायल उक्त सफलताको पछाडि आउने एउटा नाम भएको बताए। चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीले हरेक नोभेम्बर ५ मा अमेरिकाको एउटा राज्यमा नेपाली संगीतको उत्सव हुनु नै नेपाली सांगीतिक क्षेत्रको ठूलो उपलब्धि भएका बारे चर्चा गरे। इतिहासविद् तथा प्राध्यापक डा. सुरेन्द्र केसीले नेपालमा प्रतिभाको कदर नहुनु कलाकारका लागि दुःखद पक्ष भएको बताए।

त्यस्तै सम्मानित गायक राईले सम्पूर्ण नेपालीको माया र आशिर्वादले आफूले सोच्दै नसोचेको सम्मान प्राप्त गरेको बताए। चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटाले नेपाली कलाकारले अन्तर्राष्ट्रिय सम्मान पाउनु सम्पूर्ण संगीतप्रेमीका लागि खुसीको कुरा भएको बताए। सम्मान कार्यक्रममा गीतकार तथा सञ्चारकर्मी शान्तिप्रिय, नायिका तथा गायिका सारिका घिमिरे, अनेसासका वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीलगायतले राईलाई शुभकामना र बधाई ज्ञापन गरे। सम्मान कार्यक्रममै गायक राईले आफ्नो चर्चित गीत सोल्टिनीको केही अंश गुनगुनाए।