हायतमा प्रदर्शनी

0
Shares

फिनल्यान्डले स्वतन्त्रताको १ सय वर्ष पुगेको अवसरमा राजधानीको बौद्धस्थित हायात होटलको तारागोन म्युजियममा चित्रकला प्रदर्शनी गर्यो। चित्रकार तथा सुशीला आर्टस् एकेडेमीको आयोजना र फिनल्यान्ड दूतावासको सहयोगमा प्रदर्शनी गरिएको हो। फिनल्यान्डका राजदूत जोर्मा सुभान्तोको प्रमुख आतिथ्यतामा भएको प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रागिनी उपाध्याय, सुशीला आर्टस्की संस्थापक तथा निर्देशक युलिया कोइरालालगायत चित्रकलाप्रेमीको उपस्थिति रहेको थियो।

प्रदर्शनीमा राखिएका चित्रहरूले फिनल्यान्डको प्राकृतिक सुन्दरता, राष्ट्रिय पक्ष, भेषभूषा, नेपाल र फिनल्यान्डको मित्रतालाई झल्काउँछ। प्रदर्शनीको शुभारम्भ गर्दै राजदूत जोर्मा सुभान्तोले फिनल्यान्डले स्वतन्त्रताको १००औं वर्ष नेपालमा मनाउन पाउनु खुसीको कुरा भएको र आउने दिनमा दुई देशबीचको सम्बन्ध अझ सुमधुर हुने बताए। ललितकला प्रज्ञा प्रतिष्ठानकी उपकुलपति रागिनी उपाध्यायले फिनल्यान्ड र त्यहाँका मानिसका बारेमा आफ्नो अनुभव व्यक्त गरिन्। ‘प्रदर्शनीको माध्यमबाट नै अनुभव खारिन्छ र यसले सफल चित्रकार बनाउन मद्दत गर्दछ’ –सुशीला आर्टस्की संस्थापक युलिया कोइरालाले भनिन्। प्रदर्शनी डिसेम्बर ६ सम्म चल्ने आयोजकले जानकारी गराएका छन्।