ताप्लेजुङमा शान्तिपुर्ण रुपमा मतदान जारी (फोटोफिचर)


रविन भट्टराई, ताप्लेजुङ ।
ताप्लेजुङका सबै मतदान स्थलका केन्द्रमामा विहानैबाट शान्तिपुर्ण रुपमा मतदान भईरहेको छ । ७३ मतदान स्थल रहेको ताप्लेजुङका १ सय १४ केन्द्रमानै मतदानका लागि मतदाताको उत्साहपुर्ण रुपमा सहभागिता रहेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्किले जानकारी दिनुभयो ।

ताप्लेजुङको विकट तथा अति दुर्गम स्थानमा रहेको फक्ताङ्लुङ गाउँपालीकाको याङ्मा, ग्याब्ला, घुन्सा र ओलाङ्चुङगोलामा पनि समयमानै मतदान सुरु भएको कार्किको भनाई छ । यो स्थान हिमाली स्थान भएकाले तल्लो क्षेत्रको तुलनामा अलि चिसो ठाउँ भएकाले विहान कम मतदाता उपस्थित भए पनि दिउँसो बढि सहभागि हुने अपेक्षा गरीएको कार्किको भनाई छ । यी चार स्थान बाहेक अन्य स्थान र केन्द्रमा पनि शान्तिपुर्ण रुपमा मतदान भईरहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी मोहन जिसिले जानकारी दिनुभयो ।

हिजो सदरमुकाम स्थित भानु जन माविमा रहेको मतदान स्थलमा बुथ निर्माणको क्रममा विश्फोट भए पछि सो स्थानलाई सोहि विद्यालयको अर्को खेलमैदानमा सारी सुरक्षित रुपमा मतदान भईरहेको र अन्य केन्द्र र स्थानको पनि सुरक्षा व्यवस्था मजबुत भएको प्रखुम जिल्ला अधिकारी जिसिले बताउनुभयो । सबै स्थानमा नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरी सहित म्यादि प्रहरी परिचालन गरीएको उहाँको भनाई छ ।

ताप्लेजुङमा मात्रै सुरक्षाका लागि २ हजार ४० जना सुरक्षा कर्मि परीचालन गरीएको छ । अधिकाँस मतदान भईरहेको केन्द्रमा २ सयको हाराहारीमा यो समाचार तयार पार्दा सम्ममा मत झरीरहेको जानकारी आएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्किले जानकारी दिनुभयो । सबै मतदान केन्द्रमा बृद्धबृद्धा, असक्त र अपाङ्गलाई मतदानका लागि छुट्टै लाईनको व्यवस्था मिलाई मतदान भईरहेको उहाँले जानकारी दिनुभयो ।

ताप्लेजुङमा प्रतिनिधिसभो १ र प्रदेश सभाको दुई क्षेत्रको लागि निर्वाचन भईरहेको छ । प्रतिनिधिसभाका लागि ७ साथै प्रदेशसभाको लागि क क्षेत्रमा ७ र ख मा ८ दल चुनावि मैदानमा रहेका छन् । आज ताप्लेजुङमा ७८ हजार ३ सय ९७ मतदाताले आफ्नो मताधिकार प्रयोग गरीरहेका छन् ।

चार केन्द्रको मतपेटिका भोली हेलिकोप्टरबाट ल्याईने

ताप्लेजुङको माथिल्लो दुर्गम हिमाली गाउँपालीकामा रहेको चार स्थानको मतपेटिका भोली सोमबार मात्रै सदरमुकाम ल्याईने भएको छ । आज मतदान साँझ पाँच बजे मात्रै सकिने र चाँडै रातपर्ने र आज मौषम अलि धुम्म रहेकाले फक्ताङ्लुङ गाउँपालीका ६ मा रहेको ग्याब्ला, ७ मा रहेको याङ्मा, ६ को घुन्सा र ओलाङ्चुङगोलाको मतपेटिका नेपाली सेनाको हेलिकोप्टरबाट भोली मात्रै ल्याउने तयारी रहेको प्रखुम जिल्ला अधिकारी मोहन जिसिले जानकारी दिनुभयो अन्य स्थान र केन्द्रका मतपेटिका भने स्थलमार्गबाट ल्याउने उहाँको भनाई छ । मतपेटिकालाई सदरमुकाम ल्याउने जिम्मा नेपाली सेनालाई दिईएको छ ।

स्थलमार्गबाट पनि सबै स्थानको मतपेटिका भोली सोमबार सम्ममा मात्रै आईसक्ने मुख्य निर्वाचन अधिकृत कृपासुर कार्किले जानकारी दिनुभयो । सबै स्थानको मतपेटिका आएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतको चारवटा खोठामा सिलबन्दि गरी राख्ने तयारी रहेको कार्किको भनाई छ । फोटोहरु पनि ।