मौन अवधिमा पार्टी एकीकण र उम्मेदवारी फिर्ता

0
Shares

नेपाल समाचारपत्र
लमजुङ
मौन अवधि शुरू भएपछि लमजुङमा पार्टी एकीकरण र उम्मेदवारी फिर्ताको घोषणा गरिएको छ। जनसमाजवादी पार्टीले माओवादी केन्द्रसँग पार्टी विलय भएको घोषणासहित आफ्ना दलका उम्मेदवारी नरहेको जनाएको छ।

शुक्रबार बिहान जिल्ला सदरमुकाम बेंसीशहरमा पत्रकार सम्मेलनमार्फत् सो पार्टीले यस्तो अवगत गराएको हो। पार्टीका केन्द्रीय सचिव एवं प्रतिनिधिसभाका उम्मेदवार निराजन कुँवर, सो दलका जिल्ला अध्यक्ष सूर्यबहादुर बुढापृथी, प्रदेशसभा ‘क’का उम्मेदवार बुद्धिमान परियार, प्रदेशसभा ‘ख’ का उम्मेदवार हर्के सार्कीले हस्ताक्षर गरेको विज्ञप्ति सार्वजनिक गरिएको छ। लमजुङका उम्मेदवारको उम्मेदवारी रद्द भएको सो पार्टीले प्रस्ट्याएको छ।

विज्ञप्तिमा भनिएको छ– ‘जनसमाजवादी पार्टी लमजुङ र नेकपा माओवादी केन्द्रकाबीचको छलफल र सहमतिअनुसार जनसमाजवादी पार्टी नेपालका यस जिल्लामा क्रियाशील सदस्य माओवादी केन्द्रमा समाहित भई एकता भएको जानकारी गराउँछौं।’ सो पार्टीले वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आफ्ना पार्टीका समर्थकलाई आह्वान गरेको छ।