भैरव स्मृति पुरस्कार धुर्मुस–सुन्तली फाउन्डेसनलाई

0
Shares

हेटौंडा,(नेस)।
यस वर्षको भैरव अर्याल स्मृति पुरस्कार धुर्मुस–सुन्तली फाउन्डेसनलाई प्रदान गरिने भएको छ। हाँस्यव्यंग्यकार भैरव अर्यालको स्मृतिमा साहित्य संगम र सिस्नुपानी नेपाल मकवानपुरले संयुक्तरूपमा स्थापना गरेको पुरस्कार सामाजिक सेवामा सक्रिय धुर्मुस–सुन्तली फाउन्डेसनलाई प्रदान गर्ने निर्णय भएको संगमका पूर्वअध्यक्ष आरसी रिजालले जानकारी गराए।

हाँस्यव्यंग्य क्षेत्रमा योगदान पुर्याउने साहित्यकार तथा कलाकारलाई प्रदान गरिँदै आएको पुरस्कार यस वर्ष हाँस्यकलाकारका रूपमा स्थापित भएर सामाजिक सेवामा सक्रिय फाउन्डेसनलाई प्रदान गर्न लागिएको संगमका उपाध्यक्ष अनिता न्यौपानेले बताइन्। फाउन्डेसन हाँस्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले स्थापना गरेका हुन्। धुर्मुस–सुन्तलीले हाँस्य कलाकारिता क्षेत्रसँगै सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनीहरूलाई पुरस्कृत गर्न लागिएको साहित्य संगम मकवानपुरका उपाध्यक्ष न्यौपानेले जानकारी गराइन्। एक दशकदेखि हाँस्य कलाकारलाई प्रदान गरिँदै आएको पुरस्कारको राशि नगद २१ हजार १ सय ११ रुपियाँ छ।

आगामी मंसिर १६ गते हेटांैडा–५ स्थित पुष्पलाल स्मृति पुस्तकालयमा रहेको अर्यालको प्रतिमा स्थानमा कार्यक्रम गरी पुरस्कार प्रदान गरिने जनाइएको छ। पुरस्कार गत वर्ष हाँस्यकलाकार मनोज गजुरेल र अघिल्लो वर्ष चट्याङ मास्टरलाई प्रदान गरिएको थियो।