पहिलो चरणको निर्वाचनका लागि नाटक मञ्चन सम्पन्न

0
Shares

भोलि आइतबार देशका ३२ जिल्लामा हुन लागेको पहिलो चरणको निर्वाचनका लागि मतदाता शिक्षा प्रदान गर्न गाउँ–गाउँमा पुगेका २० नाट्य टोलीले पहिलो चरणको नाटक मञ्चन सम्पन्न गरेका छन्। २७ कात्तिकबाट नाटक मञ्चनका लागि उनीहरू विभिन्न ठाउँमा पुगेका थिए।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका सन्दर्भमा निर्वाचन अयोगद्वारा सञ्चालन गरिएको मतदाता शिक्षा कार्यक्रमअन्तर्गत सांस्कृतिक संस्थानको संयोजकत्व एवं आरोहण गुरुकुलको सहकार्यमा बिहीबार पनि टोलीले नाटक देखाए। संखुवासभा र भोजपुरपछि सर्लाही पुगेको आरोहण गुरुकुल विराटनगरले बिहीबार सर्लाहीका ४ स्थानमा नाटक महादान मञ्चन गर्यो। टोलीका प्रमुख दिपेश भण्डारीका अनुसार लालबन्दी नगरपालिकाको नरेन चोक, इस्वरपुर नगरपालिकाको सखुबनी बजार, हरिपूर्वा नगरपालिकाको पुरानो बजार र सञ्जनगर गाउँपालिकामा नाटक मञ्चन भएको छ। त्यस्तै बिहीबार नै प्रदेश–३ को सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको बाह्रबिसे बजार, लिसंखुमाखर गाउँपालिकाको बजार र त्रिपुरा सुन्दरी गाउँपालिकाको तहुँथलीमा नाटक प्रर्दशन गरिएको आवाज आर्ट क्रियसन प्रालि टोलीका प्रमुख कृष्णप्रसाद धितालले जानकारी गराए। त्यस्तै प्रदेश–४ को बागलुङस्थित काटेखोला गाउँपालिकाको बिउकोट, ढोरपाटन नगरपालिकाको बसपार्क, गलकोट नगरपालिकाको हटिया चोक, ताराखोला गाउँपालिकाको भातखाने ढुंगाचोक, बडी गाउँपालिकाको भिमगिछेमा खस, मगर र गुरुङ भाषामा नाटक महादान मञ्चन गरिएको निर्देशक डम्बर गिरीले बताए।

प्रदेश–५ को प्युठानमा पुगेको सारदाकुमार नाट्य टोलीले ३ ठाउँमा नाटक प्रदर्शन गर्यो। टोलीका प्रमुख नरेन्द्रकुमारका अनुसार गोउँमुखी गाउँपालिकाको नारीकोट, झिम्रुक गाउँपालिकाको ओखरकोट र नौबहिनी गाउँपालिकाको बहाने बजारमा बिहीबार नाटक मञ्चन गरियो। यही टोलीले रोल्पाको लिवाङ गाउँपालिकास्थित लिवाङ, लुग्री गाउँपालिकास्थित बडाचौर, सुनछहारी गाउँपालिकास्थित जेलवाङ र सुवर्णवती गाउँपालिकास्थित सुलिचौरमा नाटक मञ्चन गर्दै पहिलो चारणको नाटक मञ्चन सम्पन्न गरेको छ।

त्यस्तै आरँग नाट्य समूहले प्रदेश–६ को जुम्ला सुर्खेत, कालिकोट र जुम्लापछि हुम्लामा नाटक मञ्चन गरेको छ। उनीहरूको टोलीले पैदल यात्रा गर्दै गाउँ–गाउँमा नाटक देखाएको छ। हुम्लाको चन्दननाथ, उर्थु बजार, गुथीचौर, तातोपानी र तिलामा नाटक महादान मञ्चन गर्दै पहिलो चरणको मञ्चन सम्पन्न गरेको आराग समूहका निर्देशक गणेश गौतमले जानकारी गराए। प्रदेश–७ मा पुगेको सुप सांस्कृतिक मञ्चले बिहीबार शनिकात्तिक गाउँपालिका र गहुमुल गाउँपालिकाको कोल्टिगाउँमा नाटक महादान मञ्चन गर्दै पहिलो चारणको नाटक सकाएको निर्देशक अनील रिजालले जानकारी गराए।

उनका अनुसार ३२ किलोमिटरको बाटोका लागि महँगो भाडा तिरेर यात्रा गर्दै पनि नाटक मञ्चन गरिएको थियो। सिड नेपालका कलाकार बागलुङको काटेखोला गाउँपालिकाको बिउकोट पुग्दा त्यहाँ नेपालीसँगै मगर र गुरुङ समुदायका दर्शक उपस्थित भएपछि नाटक महादानलाई एकै थलोमा खस, मगर (खाम) र गुरुङ भाषामा बिहीबार मञ्चन गरिएको छ। आरँग समूहले जुम्ला, कालिकोटापछि हुम्लाको दुर्गम गाउँ तिला, गुथीचौर आदि स्थानमा नाटक गर्दा दर्शकले रमिता माने। सदरमुकामबाट मान्छेहरू आएर के रमिता गरे भन्दै जम्मा भएका दर्शकले आफ्नै स्थानीय हुम्ली भाषामा नाटक महादान हेरेपछि भोट हाल्न बल्ल सिकियो भन्दै खुसी व्यक्त गरे।