आर्सेनल अर्को चरणमा


लन्डन, (एजेन्सी)
युरोपियन क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगअन्तर्गत बिहीबार राति भएको खेलमा हारेर पनि इङ्लिस क्लब आर्सेनल अर्को चरणमा प्रवेश गरेको छ।

समूह एचअन्तर्गत भएको खेलमा आर्सेनललाई जर्मनीको एफसी कोलोनले १–० ले हराएको हो। यसै समूहको अर्को खेलमा सर्वियाको रेडस्टार बेलग्रेड र बेलारुसको बाते बोरिसोभले गोलरहित बराबरी खेलेपछि पाँच खेलबाट १० अंक जोडेको आर्सेनलले अर्को चरणमा प्रवेश पाएको हो। बिहीबार राति नै भएको समूह–सी को खेलमा अस्ट्रियाको वेनलाई ५–१ ले हराउँदै ईटालीको एसी मिलान पनि अर्को चरणमा प्रवेश गरेको छ।

यसै गरी समूह–ई बाट इटालीको एट्लान्टा पनि अर्को चरणमा प्रवेश गरे। इङ्लिस क्लब एभर्टनलाई ५–१ ले हराउँदै एट्लान्टाले अर्को चरणमा स्थान सुरक्षित गरेको हो। यसै समूहको अर्को खेलमा फ्रान्सको लियोनले साइप्रसको अपोइल लिमासोललाई ४–० ले हरायो। यसैगरी समूह–के को खेलमा भीटेसेसँग १–१ को बराबरी खेल्दै इटालियन क्लब लाजियो पनि अर्को चरणमा प्रवेश गरेको छ। यसै समूहको अर्को खेलमा नाइसले एसभी जुल्तेलाई ३–१ ले पराजित गरे।

युरोपा लिगअन्तर्गतको अन्य खेलमा स्पेनिस क्लबहरूले पनि जित हासिल गरेका छन्। समूह–ए को खेलमा स्पेनको भिया रियलले काजखस्तानको एफसी आस्टानालाई ३–२ ले हराउँदा समूह जे मा एथ्लेटिक बिल्बाओले जर्मनीको हर्था बर्लिनलाई ३–२ ले पराजित गरेका छन्।