शीर्ष नेताको दौडधुप



मधुसूदन रायमाझी, काठमाडौं
पहिलो चरणको ३२ जिल्लामा भोलि आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा मौन अवधि शुरू भएसँगै राजनीतिक दलको चुनावी जोडघटाउ शुरू भएको छ।

मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा भने राजनीतिक दलका शीर्ष नेताको दौडधुप बढेको छ। निर्वाचनमा आफ्नो पक्षमा मत तान्नका लागि शीर्ष नेताको दौडधुप बढेको हो। पहिलो चरणमा प्रतिनिधिसभा ३७ र प्रदेशसभाको ७४ क्षेत्रमा निर्वाचन हुँदै छ। पहिलो चरणको निर्वाचन हुने क्षेत्रमा वामपन्थी गठबन्धन र नेपाली कांग्रेसबीच नै प्रतिस्पर्धा हुने देखिएको छ।

नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा दैनिकरूपमा चुनावी अभियानमा खटिनुभएको छ। प्रधानमन्त्री देउवा पहिलो चरणको निर्वाचन क्षेत्रमा मौन अवधि शुरू भएपछि मंसिर २१ गते हुने निर्वाचनको प्रचारप्रसारमा जुट्नुभएको छ।

डडेल्धुराबाट प्रतिनिधिसभाको उम्मेदवार रहनुभएका प्रधानमन्त्री देउवाले प्रदेश नम्बर ७ मा हुने निर्वाचन क्षेत्रमा बढी ध्यान केन्द्रित गर्नुभएको छ। आफ्नै निर्वाचन क्षेत्र डडेल्धुराको चुनावीसभादेखि लिएर देशका विभिन्न स्थानमा हुने चुनावीसभामा देउवा केन्द्रित हुँदै आउनुभएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि चुनावी अभियानको क्रममा दौडधुपमा रहनुभएको छ दैनिकरूपमा आयोजना हुने चुनावीसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्दै आउनुभएको छ। झापाको ५ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेदवार रहनुभएका ओलीले झापासँगै देशका विभिन्न क्षेत्रमा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्दै आउनुभएको छ।

छोरा प्रकाश दाहालको निधनपछि शोकमा रहनुभएका नेकपामा ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि शुक्रबारबाट चुनावी सभामा जुट्नुभएको छ।

बिहीबार प्रकाशको श्रद्धाञ्जलीसभा कार्यक्रम सम्पन्न भएलगत्तै प्रचण्डले शुक्रबार चितवनमा आयोजित चुनावीसभालाई सम्बोधन गर्नुभएको छ। प्रचण्डका प्रेस संयोजक मनहरि तिम्सिनाले मंसिर २१ को निर्वाचनअघि अध्यक्ष चितवनमा हुने चुनावी सभा, कोणसभा र घरदैलो कार्यक्रममा सहभागी हुने बताउनुभयो।

वाम गठबन्धनले देशका विभिन्न निर्वाचन क्षेत्रमा आयोजना हुने चुनावी सभालाई दुई पार्टीका अध्यक्ष ओली र प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम भए पनि छोरा प्रकाशको निधनपछि अन्य क्षेत्रको कार्यक्रम रद्द गरेर प्रचण्ड चितवन क्षेत्र नम्बर ३ केन्द्रित हुनुहुने भएको छ।

प्रचण्डको सम्बोधन गर्ने चुनावी सभामा नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापाले सम्बोधन गर्दै आउनुभएको छ। वाम गठबन्धनद्वारा संयुक्त रूपमा आयोजना हुने चुनावी सभालाई एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका नेता थापाले सम्बोधन गर्दै आउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्